अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राष्ट्रपतिमा कांग्रेसले दाबी छोड्दैन : गगन थापा

राष्ट्रपतिमा कांग्रेसले दाबी छोड्दैन : गगन थापा


काठमाडौं – चारदलीय बैठकमा नेपाली कांग्रेसले राष्ट्रपतिमा आफ्नो दाबी नछोड्ने अडान लिएको छ।

आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको नेकपा माओवादी केन्द्र,  नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी (जसपा) नेपालसँगको छलफलमा कांग्रेसले आफ्नो अडान राखेको हो।

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्नुहुँदै नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले बैठकमा आफ्नो पार्टीले राष्ट्रपतिमा उम्मेदवारीमा स्वाभाविक दाबी गरेको बताउनुभयो । बैठकमा कांग्रेस बाहेकका दलहरुले पनि राष्ट्रपतिमा आफ्नो आफ्नो दाबी गरेको जानकारी दिनुभयो।

महामन्त्री थापाले भन्नुभयो, ‘राष्ट्रपति निर्वाचनको विषयमा नेपाली कांग्रेस पार्टीले माओवादी केन्द्र, जसपा, एकीकृत समाजवादी लगायतका दलसँग छलफल गरेको छ। कहिले छुट्टै कहिले तीन दलबीच बैठक बसिरहेको छ। विभिन्न विकल्पको बारेमा छलफल भएको छ। छलफल सकारात्मक छ। हामी टुङ्गोमा पुग्नेछौँ । थप छलफल गर्न आवश्यक छ भनेर भनेका छौँ ।’’

महामन्त्री थापाले प्रस्तावमा आएका नामहरुका बारेमा दलले आ–आफ्नो पार्टीमा छलफल गरी पुनः ५ बजे बैठक बस्ने सहमति भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘साँझ ५ बजे बस्नेगरी सकिएको छ । हाम्रो ध्यान र प्राथमिकता राष्ट्रपति निर्वाचनका बारेमा नै छ। आज हामीले टुङ्ग्याउनै पर्छ । कांग्रेसले राष्ट्रपतिमा अन्य राजनीतिक दलहरुले सहयोग गर्छ भन्ने अपेक्षा राखेकै छौं। यसैगरी, अन्य दलका तर्फबाट फरक प्रस्ताव आए । तर समझदारीको वातावरण के हो भने हामी एउटै निर्णयमा पुग्छौँ । हामी एकै ठाउँमा उभिन्छौँ भन्ने कुरामा सबै स्पष्ट छौँ । कांग्रेसले आफ्नो उम्मेदवार अघि सारेको एउटा प्रस्ताव नेपाली कांग्रेसबाहेकका दलहरुले पनि अर्को प्रस्ताव गर्नुभएको छ ।  कांग्रेसले अन्य दललाई किन सहयोग नगर्ने भन्ने प्रस्ताव आएको छ ।’

महामन्त्री थापाले कांग्रेसको उम्मेदवारमा अन्य राजनीतिक दलहरुले पनि सहयोग गर्ने अपेक्षा राखेको बताउनुभयो । उहाँले अन्य दलहरुले पनि कांग्रेस बाहेकका दलका उम्मेदवारलाई राष्ट्रपतिमा सहयोग गर्नुपर्ने अडान लिएको जानकारी दिनुभयो ।