अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कसरी चुनिन्छन् राष्ट्रपति र उपराष्ट्रपति ?

कसरी चुनिन्छन् राष्ट्रपति र उपराष्ट्रपति ?


काठमाडौं – निर्वाचन आयोगले सरकारसँगको परामर्शको आधारमा नयाँ राष्ट्रपतिको निर्वाचन २०७९ फागुन २५ गते तय गरेको छ भने उपराष्ट्रपतिको निर्वाचनलाई चैत्र ३ गते गर्ने घोषणा गरेको छ।

वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल आगामी फागुन २८ गते र उपराष्ट्रपति नन्दबहादुर पुनको कार्यकाल चैत ३ गते सकिँदैछ।

कसरी हुन्छ नयाँ राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन ?

नेपालको संविधान २०७२ को धारा ६२ मा राष्ट्रपतिको निर्वाचन सम्बन्धी व्यवस्था गरिएको छ। उक्त धारामा गरिएको व्यवस्थाअनुसार राष्ट्रपतिको निर्वाचन सङ्घीय संसद्का सदस्य र प्रदेशसभाका सदस्यहरू मतदाता रहेको निर्वाचक मण्डलबाट हुनेछ। संघीय संसद अन्तर्गतको प्रतिनिधिसभामा कुल २७५ सदस्य र राष्ट्रियसभामा कुल ५९ सदस्य गरी ३३४ सदस्य संघीय संसदमा रहेका छन्। यसैगरी सातवटा प्रदेश सभामा कुल ५५० प्रदेश सभा सदस्यहरू छन् ।  यसरी राष्ट्रपतिको निर्वाचनमा कुल ८८४ मतदाता हुनेछन्।

धारा ६२ मै थप भनिएको छ– संसद्का सदस्य र प्रदेशसभाका सदस्यको मतभार संघीय कानून बमोजिम फरक हुनेछ। संघीय संसद सदस्यहरू र प्रदेश सभा सदस्यहरूको फरक-फरक मतभार गणना गर्दा हुने कुल मतभारको न्युनतम ५० प्रतिशतभन्दा बढी मत ल्याउने व्यक्ति संवैधानिक व्यवस्था अनुसार राष्ट्रपति वा उपराष्ट्रपतिमा निर्वाचित हुने व्यवस्था छ।

कसरी हुन्छ मतभारको गणना ?

राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनसम्बन्धी ऐन २०७४ अनुसार मतभार निकाल्दा सङ्घीय संसद्मा रहेका कुल सदस्य सङ्ख्याले नेपालको पछिल्लो जनसङ्ख्यालाई भाग गर्दा आउने भागफल सङ्घीय संसद्तर्फको मतभार हुने व्यवस्था रहेको छ। त्यस्तैगरी प्रदेशसभातर्फका कुल सदस्य सङ्ख्याले नेपालको पछिल्लो जनसङ्ख्यालाई भाग गर्दा आउने भागफल प्रदेशसभातर्फको मतभार हुनेछ।

संविधान तथा राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनसम्बन्धी कानूनअनुसार मतभार निकाल्न नेपालको ताजा जनगणनाको नतिजा आवश्यक पर्छ। केन्द्रीय तथ्यांक विभागले २०७८ सालमा पछिल्लो जनगणना संचालन गरेको भएतापनि जनसंख्याको अन्तिम परिणाम अझै सार्वजनिक गरिनसकेकाले यस्तो मतभार निकाल्न निर्वाचन आयोगले २०६८ सालको जनगणनाको परिणामलाई आधार मान्ने भएको छ। २०६८ सालको जनगणना अनुसार नेपालको जनसंख्या २ करोड ६४ लाख ९४ हजार ५०४ रहेको छ।

आयोगले अपनाएको गणना सूत्रअनुसार सुरुमा सङ्घीय संसद्का दुवै सदनहरू प्रतिनिधिसभा र राष्ट्रियसभाका सदस्यको कुल सङ्ख्यालाई जोडेर सङ्घीय संसद तर्फको कुल सङ्ख्या निकालिन्छ। सङ्घीय संसद्का सदस्यको मतभार निकाल्न प्रतिनिधिसभामा रहेका २७५ सदस्य र राष्ट्रियसभामा रहेका कुल ५९ सदस्य गरी जम्मा ३३४ सदस्य सङ्ख्याले पछिल्लो जनगणनाअनुसार प्राप्त नेपालको कुल जनसङ्ख्यालाई भाग गरिन्छ। त्यसरी आएको भागफललाई फेरि १,००० ले भाग गर्दा आउने भागफल नै सङ्घीय संसद्तर्फका एक सदस्यले मत हाल्दा प्राप्त हुने मतभार हुन जान्छ।

विसं २०६८ सालको जनगणना अनुसार गरिएको त्यस्तो गणनाका आधारमा अहिले सङ्घीय संसद्का सदस्यको मतभार ७९ रहेको छ। त्यस्तैगरी सातवटा प्रदेशसभामा गरी कुल ५५० जना सदस्य संख्याले २०६८ सालमा गरिएको जनगणनाअनुसार प्राप्त नेपालको कुल जनसङ्ख्यालाई भाग गर्दा आउने भागफलाई पुनः १००० ले भाग गर्दा प्रत्येक प्रदेश सभा सदस्यको मतभार ४८ हुन जान्छ। यसअनुसार, संघीय संसद्का कुल ३३४ सदस्यको कुल मतभार ९ प्रति सदस्य ७९ का दरले २६ हजार ३८६ हुन आउँछ।

प्रदेशसभाका कुल ५५० सदस्यको कुल मतभार प्रति सदस्य ४८ का दरले २६ हजार ४ सय हुन आउँछ। यसरी राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनमा कुल मत ५२ हजार ७८६ हुन आउँछ। त्यसैले जितका लागि उम्मेदवारले २६ हजार ३९४ मत ल्याउनुपर्छ। उपराष्ट्रपति निर्वाचनको लागि पनि राष्ट्रपति निर्वाचनका लागि अपनाइएको विधि नै प्रयोग गरिन्छ ।