तेह्रथुम- तेह्रथुमको आठराई गाउँपालिका-६ चुहानडाँडाको हात्तिखर्कमा आगलागीबाट ७ घर जलेर नष्ट भएका छन्। आगलागीमा धेरै क्षति भएको प्रहरीको अनुमान छ। प्रहरीका अनुसार सो क्षेत्रमा अहिले पनि आगलागी भइरहेको छ।
हालसम्म ७ वटा घर जलेर नष्ट भएको आगो निभाउन खटिएका चुहानडाँडा प्रहरी चौकीका प्रमुख असई विष्णुप्रसाद पिठाकोटेले जानकारी दिनुभयो । आज अपराह्न गाउँको पुछारमा रहेको फक्चुवाखोला दोभानको जंगलबाट सल्किएको आगो गाउँको बीचमा रहेको माझीटार सामुदायिक वनमा सल्किएको थियो । सो आगो हात्तिखर्क गाउँको बस्तीसम्म फैलिएको प्रहरीले जनाएको छ ।
आगो निभाउने कार्यमा प्रहरी र स्थानीयबासिन्दा खटिएका छन् । सुख्खा मौसम भएकाले आगो निभाउन समस्या भएको वडाध्यक्ष कृष्ण बास्कोटाले बताउनुभयाे । पानीसमेत नभएकाले स्याउलाको मद्दतले आगो निभाउने कार्य भइरहेको एक स्थानीय बासिन्दाले बताए । सबैजना आगो निभाउने कार्यमा खटिकाले आगलागी पीडितको विवरण लिन केही समय लाग्ने असई पिठाकोटेले बताउनु भयो । आगलागीको कारण खुल्न सकेको छैन ।





प्रतिक्रिया