अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

आठ दलीय गठबन्धन छैन, हाम्रो उम्मेदवार दाउपेचको होइन्, हामी जित्छौं : अध्यक्ष ओली

आठ दलीय गठबन्धन छैन, हाम्रो उम्मेदवार दाउपेचको होइन्, हामी जित्छौं : अध्यक्ष ओली


काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस नेतृत्वमा आठ दलीय गठबन्धन नै नबनेको दाबी गर्नुभएको छ।

अध्यक्ष ओलीले पार्टीको तर्फबाट सुवास नेम्वाङले राष्ट्रपति पदका लागि उम्मेदवारी दिएपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उहाँले आठ दलबीच राष्ट्रपतिमा कांग्रेसलाई सघाउने कुनै पनि सहमति नभएको जिकीर गर्नुभयो ।

अध्यक्ष ओलीले भन्नुभयो, ‘हामीले हाम्रो पार्टीको तर्फबाट र खासगरी नेपाली जनताकै तर्फबाट देशभक्त, लोकतान्त्रिक, सुशासन र विकासका पक्षधर शक्तिहरुको तर्फबाट अत्यन्तै अनुभवी, कानुनविद्, लामो समय सभामुख जस्तो गरिमामय पदमा रहेर जिम्मेवारी सफलतापूर्वक सम्पन्न गर्नुभएका, संविधान निर्माणका संविधानसभा अध्यक्षको हैसियतले महत्वपूर्ण भूमिका पूरा गर्नुभएका सफल राजनीतिज्ञको रुपमा परिचित माननीय सुवासचन्द्र नेम्वाङजीलाई आगामी २५ गते हुने राष्ट्रपति निर्वाचनका लागि उम्मेदवारको रुपमा उठाएका छौं । विधिपूर्वक हामीले यो उम्मेदवार उठाएका छौं। र, उम्मेदवार दर्ताको निस्सा पनि हामीले बुझाएका छौं। मैले विश्वास लिएको छु पार्टीको तर्फबाट– हामीले आफ्नो दलीय स्वार्थ होइन् राष्ट्रिय स्वार्थका लागि, राष्ट्रको हितका लागि, जनताको हितको लागि, संविधानको रक्षा, कार्यान्वयन, सही सफल कार्यान्वयनका लागि, प्रणालीको रक्षा, सफल प्रयोग र प्रवद्र्धनका लागि यो उम्मेदवारी उठाएक हौं।’

सत्तारुढ गठबन्धन तलमाथि नभएकाले आफूहरुको उम्मेदवार नेम्वाङ अत्याधिक मतका साथ राष्ट्रपति पदमा विजयी हुने अध्यक्ष ओलीले बताउनुभयो। उहाँले नेम्वाङलाई राष्ट्र र जनताको सर्वोपरी हितलाई ध्यानमा राखेर राष्ट्रपति पदको उम्मेदवार बनाएको बताउनु भयो ।

अध्यक्ष ओली भन्नुहुन्छ, ‘हाम्रो उम्मेदवारी सर्वत्र स्वीकार्य मात्रै होइन। स्वागतको विषय बन्नेछ । हरेक मतदाताले र मतदाताका निम्ति मतदानका निम्ति प्रेरित गर्ने मिडिया, सामाजिक सञ्जाल सबैतिरबाट पनि हामीले साथ, सहयोग प्राप्त गर्नेछौं । नेपाली जनताको साथ, सहयोग हामीलाई हुनेछ। र, अत्याधिक मतका साथ हामीले विजय हासिल गर्नेछौं भन्ने मैले विश्वास लिएको छु। किनभने यसमा हाम्रो उम्मेदवार, हामीले उठाएको उम्मेदवार दाउपेचको उम्मेवार होइन।’

अध्यक्ष ओलीले नेम्वाङलाई राष्ट्रपति पदमा विजयी गराउनका लागि सिंगै नेपाली जनताको, मिडिया क्षेत्रको पनि साथ रहने बताउनुभयो । उहाँले भन्नुभयो, ‘यो वर्तमान सरकार गठन गरेकै बेला पुस १० गते नै यस विषयमा टुंगो लागिसकेको थियो। त्यसो भएर यसमा सहमत सबैपक्ष प्रतिवद्ध भएर लाग्नु हुनेछ भन्ने हामीले विश्वास लिएका छौं। आफ्ना प्रतिवद्धताबाट, आफ्ना वचनवद्धताबाट, आफूले सार्वजनिक गरेका विषयहरुबाट कोही पनि पछि हटने खालको काम हुन सक्दैन भन्ने हाम्रो धारणा छ । कुनै चिजको पनि एक सर्कल पूरा नगरीकन एउटा जुन प्रतिवद्धता छ, जुन सहमती छ। र, जुन सम्झौता हामीले गरेका छौं। त्यो पूरा नभई यताउता हुन्छ भन्ने कुरा विश्वास छैन। गठबन्धनको कुनै निर्णय छैन। आठ दलीय गठबन्धन पनि छैन। गठबन्धनका निर्णय पनि छैन।’

शुक्रबार बेलुकी प्रधानमन्त्री कार्यालयमा बोलाइएका दलका साथीहरु आफूहरुको सम्पर्कमा रहेको उहाँले दाबी गर्नुभयो । उहाँले भन्नुभयो, ‘हिजो बेलुका प्रधानमन्त्री कार्यालयमा केही दलका साथीहरुलाई बोलाइएको थियो। उहाँहरु हाम्रो सम्पर्कमै हुनुहुन्छ। कुराकानी भइराखेको छ। हामीलाई पनि बोलाइएको थियो। हामी गएका हौं।  कांग्रेसलाई समर्थन गर्ने भन्ने कुरा प्रचण्डजीले भन्नुभयो। कसरी भन्नु भयो त्यो उहाँको कुरा हो। अरुको त्यस्तो कुरा केही छैन। सत्तारुढ गठबन्धन कहीँ बिग्रेको छैन।’