जुम्ला – नेकपा एमालेका सचिव योगेश भट्टराईले २०७९ पुस १० गतेको सहमतिमा फर्किन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आग्रह गर्नुभएको छ ।
नेकपा एमालेले देशभरि सञ्चालन गरिरहेको पार्टी सुदृढीकरण तथा विस्तार अभियान ‘मिसन ग्रासरुट’ शुभारम्भ गर्न आज जुम्ला आइपुग्नुभएका सचिव भट्टराईले एमालेसहितको सात दलीय गठबन्धनमा फर्किदा मात्रै प्रचण्डको खुट्टा बलियो हुने बताउनु भएको हो।
प्रधानमन्त्री प्रचण्डका खुट्टा लुला भएकाले हल्लिरहेको टिप्पणी गर्दै सचिव भट्टराईले हल्लिएको खुट्टा बलियो बनाउने हो भने आफू प्रधानमन्त्री बन्न पुस १० गते आफैंले गरेको सहमतिमा फर्किन आग्रह गर्नुभयो। उहाँले भन्नुभयो, ‘नेकपा एमालेले लगाइदिएको फलामका खुट्टा प्रचण्डले फेर्दा अहिले उहाँ हल्लिरहनु भएको छ। हल्लिएका फलामको खुट्टालाई बलियो बनाउन पुस १० गतेको सहमतिमा फर्किनु हुन्छ भन्ने विश्वास हामीलाई छ।’
प्रधानमन्त्री प्रचण्डले पुस १० गतेको सहमति भङ्ग भएको औपचारिक घोषणा गरे भने बेग्लै खालको नयाँ राजनीतिक समीकरण निर्माण हुने भट्टराईको भनाइ छ । प्रचण्डले गरेको निर्णय सच्चिनेमा एमाले विश्वस्त रहेको उहाँले बताउनु भयो ।
रापप्राले सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेको हुनाले संविधान अनुसार ३० दिनभित्र पुनः प्रधानमन्त्रीले विश्वासको मत लिनु पर्ने उहाँले बताउनु भयो ।






प्रतिक्रिया