अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राष्ट्रपतिमा एमालेका उम्मेदवारलाई सहयोग गर्न अध्यक्ष ओलीको अपिल

राष्ट्रपतिमा एमालेका उम्मेदवारलाई सहयोग गर्न अध्यक्ष ओलीको अपिल


काठमाडौं – नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आगामी राष्ट्रपतिको निर्वाचनमा आफ्नो पार्टीका उम्मेदवारलाई सहयोग गर्न अपिल गर्नुभएको छ।

शहिद परिवार तथा विभिन्न राजनीतिक आन्दोलनका क्रममा घाइते भएकाको सम्मानमा ‘हाम्रो चम्किलो तारा’ नामक संस्थाले आज आयोजना गरेको कार्यक्रममा उहाँले देशको हितका लागि पनि एमालेलाई मतदान गरिनुपर्ने जिकिर गर्नुभयो।

उहाँले भन्नुभयो, ‘अहिले राष्ट्रपतिको निर्वाचन आइरहेको छ, मतदान देशका लागि हुनुपर्छ। जनमतले पनि एमाले उम्मेदवारलाई सहयोग गर्नुपर्छ । किनकी एमाले देश, जनता, राष्ट्रिय स्वाधीनता, भौगोलिकताको संवर्द्धनका लागि हो । त्यसैले राष्ट्रपतिको मतदानमा एमालेका उम्मेदवारलाई मतदान गर्न म मतदातालाई आग्रह गर्न चाहन्छु ।’

आगामी फागुन २५ गते हुने राष्ट्रपतिको निर्वाचनमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले शनिबार उम्मेदवारी मनोनयन गर्नुभएको छ । एमाले अध्यक्ष ओलीले अहिले आफ्नो पार्टी देशी र विदेशी प्रतिक्रियावादी शक्तिबाट खेदिएको आरोप लगाउनुभयो । ‘अहिले सबभन्दा बढी विदेशी शक्ति र देशभित्रका प्रतिक्रियावादी शक्तिबाट एमाले खेदिएको छ’, उहाँले भन्नुभयो ।

उहाँले विभिन्न बहानामा आन्दोलन र द्वन्द्व भए पनि पीडितले अझै न्याय पाउन नसकेको भन्दै सहिद, बेपत्ता र घाइते परिवारलाई राज्यले सहयोग गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले विभिन्न आन्दोलनका घाइतेको उपचार र पीडितलाई राहत दिन पार्टीले पहलकदमी लिने पनि उल्लेख गर्नुभयो ।

उहाँले नेपालमा थुप्रै खाले आन्दोलनबाट धेरै सङ्ख्यामा सहिद र बेपत्ता भएको भन्दै सरकारले उनीहरूको पहिचान र पीडितलाई राहत दिनुपर्ने धारणा राख्नुभयो । देशका लागि लडेका योद्धा सहिदको सपना साकार पार्न सबै लाग्नुपर्नेमा उहाँको जोड थियो।

संस्थाको शुभारम्मसँगै राम्रो कामको थालनी भएकामा प्रशंसा गर्दै उहाँले आगामी दिनमा यस्ता कार्यक्रमलाई निरन्तरता दिन आग्रह गर्नुभयो । सो अवसरमा एमाले अध्यक्ष ओलीले संस्थामा अक्षयकोषका लागि रु दुई लाख सहयोगको घोषणा गर्नुभयो ।

संस्थाका अध्यक्ष लक्ष्मी गुरुङले विभिन्न राजनीतिक सामाजिक आन्दोलनका सहिद परिवार र घाइतेको सम्मानमा थोरै भए पनि राहत पु¥याउने उद्देश्यले संस्थाले पहल लिएको उल्लेख गर्नुभयो ।

कार्यक्रममा विभिन्न राजनीतिक र सामाजिक आन्दोलनमा सहिद भएका परिवार र घाइतेलाई सम्मान गरिएको थियो । संस्थाका तर्फबाट एमाले अध्यक्ष ओलीले नगदसहित कदरपत्रबाट सम्मान गर्नुभएको हो । सम्मानित हुनेमा सहिद परिवारतर्फ विशेश्वरा दाहाल, गोमा देवकोटा, कमला सुवेदी, शान्ति पाख्रिन, सरिता अधिकारी, तीर्था गौतम, देवी सुनार तथा घाइतेमा कृष्ण अधिकारी, चित्रबहादुर घर्तीलगायत रहनुभएको छ ।

जनवादी कलाकार जीवन शर्माले विभिन्न गीत प्रस्तुत गर्नुभएको थियो । विशेष प्रस्तुतीका रूपमा किशोर अनुरागको निर्देशन रहेको ‘सपना’ नाटक प्रस्तुत गरिएको थियो । कार्यक्रममा कराते खेलाडीको खेल कौशल पनि प्रस्तुत गरिएको थियो ।