इलाम-इलाम नगरपालिका–१० ले किसानलाई रु १४ लाख बराबरका कृषि सामग्री वितरण गरेको छ । वडाका एक सय १० किसानलाई व्यावसायिक बन्न प्रेरित गर्ने उद्देश्यले कृषि सामग्री वितरण गरिएको हो ।
कृषि तथा पशुपालन प्रवर्द्धन कार्यक्रमअन्तर्गत ७० प्रतिशत अनुदानमा सामग्री वितरण गरिएको वडाध्यक्ष दिलीप प्रधानले जानकारी दिनुभयो । किसानलाई २२ थान घाँस काट्ने मेसिन, ३५ थान जाली नेट, ४० थान टनेल प्लास्टिक र दुई हजार एक सय मिटर प्लास्टिकको पाइप वितरण गरिएको छ ।
यस्तै गोठ सुधारअन्तर्गत २८ किसानलाई गिट्टी, सिमेन्ट, बालुवा र रड वितरण गरिएको छ । वडा कार्यालयको रु १० लाख र किसानको रु तीन लाख ९८ हजारको लागत साझेदारीमा कृषि सामग्री वितरण गरिएको वडाध्यक्ष प्रधानले बताउनुभयो ।
किसानलाई इलाम नगरपालिकाका प्रमुख केदार थापाले सो सामग्री हस्तान्तरण गर्नुभयो । उहाँले व्यावसायिक किसानलाई प्रोत्साहन गर्न नगरपालिकाले विभिन्न कार्यक्रम ल्याएको बताउनुभयो ।
कृषि क्षेत्रबाट मात्र समग्र देशको आर्थिक विकास हुने उल्लेख गर्दै थापाले आगामी वर्ष पनि नगरपालिकाले कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर योजना बनाउने बताउनुभयो । “किसानका समस्या पहिचान गरी आगामी वर्ष थप कार्यक्रम ल्याउने योजना छ”, उहाँले भन्नुभयो ।







प्रतिक्रिया