अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कल्भर्ट निर्माण नहुँदा कृषि उपज ढुवानी गर्न सास्ती

कल्भर्ट निर्माण नहुँदा कृषि उपज ढुवानी गर्न सास्ती


कञ्चनपुर-कञ्चनपुरको बेलौरी नगरपालिका–६ स्थित सीमावर्ती गाउँका बासिन्दाले स्थानीय नालामा कल्भर्ट निर्माण पूरा नहुँदा सास्ती खेप्दै आएका छन् । पुरैनी तालको पानी निकास हुने नालामा पाँच वर्षदेखि थालिइको कल्भर्ट निर्माण पूरा हुनसकेको छैन । 

कल्भर्ट निर्माणका लागि पिलर गाडेको धेरै वर्ष बिते पनि निर्माण हुन नसकेको स्थानीय खड्क चन्दले बताउनुभयो । “भुराकोट, खैरानी, बोर्डर र सत्ताइस नम्बर गाउँका बासिन्दाको जग्गा नालापारि छ”, उहाँले भन्नुभयो, “कल्भर्ट निर्माण नहुँदा कृषिजन्य वस्तु ल्याउन समस्या झेल्दै आएका छौँ ।” नालामा पानीको बहाव बढी हुने भएकाले कृषिजन्य वस्तु ढुवानीमा समेत अप्ठ्यारो हुने गरेको छ ।

“वर्षात्मा रोपाइँ गर्न जानै समस्या छ”, लक्ष्मण खत्रीले भन्नुभयो, “नाला तर्न समस्या छ, जेनतेन धान रोपे पनि वर्षाका कारण पुरैनी तालको पानी खेतमा पसेर काटेको धान बगाएर लैजाने गरेको छ, दुई वर्षदेखि धानबाली भित्र्याउन पाएका छैनौँ ।” 

गहुँ र उखुखेतीमात्रै सहजरूपमा लगाउन पाइने उहाँले बताउनुभयो ।  नालापारि एक सय ५० बढी परिवारको जग्गा छ । वडा कार्यालयबाट नगरपालिका कार्यालयसम्म कल्भर्ट निर्माण पूरा गरिदिन अनुरोध गर्दै आए पनि सुनवाइ नभएको स्थानीय लोकबहादुर वडुवालले बताउनुभयो ।

नगर उपप्रमुख जोगराम चौधरीले चालु आर्थिक वर्षभित्रै अधुरो कल्भर्ट निर्माण पूरा हुने बताउनुभयो । “जगेडा कोषबाट रकम खर्चेर कल्र्भट निर्माण गछौँ”, उहाँले भन्नुभयो, “स्थानीय किसानले खेतबारी डुबानको समस्या राखेका छन्, त्यसलाई समाधान गर्नका लागि काम  अगाडि बढाउँछौँ ।”

चौपाया चोरीको समस्या 

सीमावर्ती भुराकोट गाउँका बासिन्दाले चौपाया चोरी हुँदा नोक्सानी व्यहोर्दै आएका छन् । बर्सेनी गोठमा बाँधेर राखेका भैँसी चोरी हुँदा समस्या भएको स्थानीयले बताएका छन् ।

स्थानीय लक्ष्मण खत्री भैँसी चोरीसँगै उखु तस्करी समेत हुने गरेको बताउनुहुन्छ । “पहिला नगरपालिका क्षेत्रमा चिनी मिल नहुँदा उखु भारततर्फ तस्करी हुन्थ्यो”, उहाँले भन्नुभयो, “अहिले भारतबाट उखु अवैधरूपमा नगरपालिका क्षेत्रमा सञ्चालित मिलमा ल्याउने गरिएको छ ।”