तनहुँ – नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले एमाले सत्ता बाहिर हुँदा झन् बलियो भएको बताउनुभएको छ। एमाले तनहुँले बन्दीपुरमा आज गरेको जिल्ला कमिटी स्तरीय प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै उपमहासचिव ज्ञवालीले सो कुरा बताउनुभयो। उहाँले भन्नुभयो, ‘एमालेको जनमत बढेकाले झन् बलियो भएको छ।’
एमाले सरकार बाहिर हुँदा देशमा नयाँ अस्थिरता छाएकाले एमालेप्रति नै जनताले भरोसा गरेकाले पार्टी बलियो बनेको उपमहासचिव ज्ञवालीले बताउनुभयो। उहाँले भन्नुभयो, ‘परिवर्तनलाई रोक्नका लागि यथास्थितिवादीले षडयन्त्र गरेकाले गठबन्धन भत्किएको हो। एमालेको सहयोगबाट प्रधानमन्त्री बनी गठबन्धनको सबैभन्दा बढी लाभ लिनुभएको पुष्पकमल दाहाल प्रचण्डले नै गठबन्धनका सहयात्री दललाई धोका दियो।’
देश एमालेको नीति तथा सिद्धान्तमा अगाडि बढिरहेको उहाँले बताउनुभयो । विश्व राजनीति नै मार्क्सवाद विचारधाराबाट अगाडि बढेको हुँदा त्यसको लिगेसी एमालेले मात्र बोकेको उहाँले दाबी गर्नुभयो । हाल परिवर्तनकारी शक्ति र परिवर्तन विरोधी शक्तिको बीचमा शक्ति सङ्घर्ष चलिरहेको हुँदा त्यसलाई चिर्न एमाले सफल हुने उहाँले बताउनुभयो ।
बुधबार र बिहीबार गरी दुई दिन बन्दिपुरमा हुने प्रशिक्षण कार्यक्रममा उपमहासचिव ज्ञवालीसहित पार्टीका केन्द्रीय नेताहरूले प्रशिक्षण दिने कार्यक्रम रहेको एमाले तनहुँका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले बताउनुभयो ।






प्रतिक्रिया