बुटवल – नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा विदेश विभाग प्रमुख डा. राजन भट्टराईले देशी-विदेशी शक्तिको घेराबन्दीमा पार्टीलाई पारिएकाले सबै नेता-कार्यकर्ता सचेत हुन जरुरी रहेको बताउनु भएको छ ।
आज बुटवलमा आयोजित मिसन ग्रासरूट अभियानमा उहाँले भन्नुभयो, ‘एमालेमाथि चारैतर्फबाट घेराबन्दी भएको छ, देशी-विदेशी शक्तिहरु मिलेर पार्टीलाई घेराबन्दीमा पारे पनि सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनले नै एमालेलाई परास्त पार्न सकिँदैन भन्ने कुरा स्पष्ट पारेको छ।’
बुटवल उपमहानगरपालिका-१३ बेलवासमा आज एक कार्यक्रम गरी दुई महिने अभियानको औपचारिक सुरुआत गरिएको हो।
कार्यक्रममा एमालेका स्थायी कमिटी सदस्य तथा पार्टीका विदेश विभाग प्रमुख डा.भट्टराईले पार्टीलाई बलियो बनाउन ग्रासरुट अभियानको थालनी गरिएको बताउनुभयो। उहाँले भन्नुभयो, ‘एमाले तल्लो तहका कार्यकर्ताले जोगाएको पार्टी हो, यसमा अझै धेरैलाई जोड्न जरुरी छ।’
पार्टी छोड्ने नेताले एमाले सकिन्छ भनेर सोच्ने गरेको बताउँदै नेता भट्टराईले यो अभियानले पार्टी झनै बलियो बन्ने दाबी गर्नुभयो। राष्ट्रिय राजनीतिमा एमालेको भूमिका अझै प्रभावकारी बनाउन युवालाई पार्टीप्रति आकर्षण गर्न जरुरी रहेको उहाँले बताउनुभयो।
देश र जनताको हितलाई केन्द्रमा राखेर एमालेले नीति कार्यक्रम बनाएको बताउँदै नेता भट्टराईले यसबारे तल्लो तहका कार्यकर्तालाई जानकारी गराउन तथा राष्ट्रिय एकता र विकास निर्माणमा पार्टीले खेलेको भूमिकाबारे आमनागरिकलाई जानकार बनाउन अभियानलाई सफल पार्न आग्रह गर्नुभयो।
“मुलुक इतिहासकै अप्ठ्यारो मोडमा छ, अहिले अन्तर्राष्ट्रिय शक्ति मिलेर हामीलाई एक्ल्याउन खोजेका छन् । प्रतिकूलतालाई अनुकूलतामा बदलेर अघि बढ्न पार्टीलाई सबैको साथ आवश्यक छ”, उहाँले भन्नुभयो ।
एमालेका पेलिट्ब्युरो सदस्य वैजनाथ चौधरीले पार्टी अराजकताको अन्त्य गरी पार्टीलाई सशक्त बनाउन अभियान प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभयो । “पहिले एक समयमा सिङ्गो मुलुकको हेडक्वाटर बुटवल थियो । यो ठाउँले धेरै दिग्गज नेता जन्माएको छ, यस्तो ठाउँमा सिन ग्रासरुटले अझै सकारात्मक प्रभाव पार्नेछ”, उहाँले भन्नुभयो।
अभियानअन्तर्गत प्रदेश तथा जिल्लास्तरका पार्टीका नेताले वडादेखि पालिकास्तरसम्मका कार्यकर्तालाई प्रशिक्षण दिइनेछ । स्थानीय तह, सङ्घ र प्रदेश निर्वाचनमा हार ब्यहोर्नुको कारण र त्यसको कमीकमजोरीबारे पनि अभियानमा कार्यकर्तामाझ व्यापक छलफल गरी सुदृढीकरणमा जागरुक गराइने एमालेका जिल्ला अध्यक्ष तेजेन्द्र केसीले बताउनुभयो।
अभियानअन्तर्गत यही २० गते बुटवल उपमहानगरका–१९ वटै वडा र २८ गते उपमहानगरका दुई सय ९९ टोलमा अभिमुखीकरण गरिने नगर अध्यक्ष किसन ज्ञवालीले जानकारी दिनुभयो।
यस्तै चैत १० गतेभित्र सदस्यता विस्तार तथा नवीकरण, १५ गतेसम्म भेला बैठक, २५ सम्म वैचारिक प्रशिक्षण तथा विकास र निर्माण र जनजीविकाका सम्बन्धमा छलफल, सहिद परिवार तथा विशिष्ट व्यक्तिलाई सम्मान, पत्रकार तथा बुद्धिजीवीसँग सुझाव सङ्कलन गरिनेछ । दुई महिने अभियानको अन्त्यमा गरेका कामको प्रतिवेदन सार्वजनिक गरिने छ।
अभियान सफल बनाउन बुटवलमा ४० जना केन्द्र, प्रदेश र जिल्ला कमिटीका सदस्यका छनोट गरी जिम्मेवारी दिइएको छ। अभियान वैशाख ९ गते समापन हुनेछ ।






प्रतिक्रिया