मोरङ – प्रदेश १ को नाम ‘कोशी प्रदेश’ राख्ने प्रस्तावमाथिको छलफल सकिएको छ। सभामुख बाबुराम गौतमले उक्त प्रस्तावमाथि संशोधन दर्ताका लागि दुई घण्टाको समय दिएका छन् । दुई घण्टापछि अर्को बैठक बस्नेछ।
काेशी प्रदेशकाे प्रस्तावमाथिकाे छलफलमा १५ जना प्रदेश सांसदले भाग लिएका थिए । प्रदेश सांसदहरूले उठाएकाे प्रश्नकाे जवाफ उक्त प्रस्तावका प्रस्तावक एमालेका प्रदेश सांसद रामबहादुर मगरले जवाफ दिएका छन् ।
संशाेधन दर्ताकाे समय सकिएपछि बस्ने अर्काे बैठकमा प्रदेश नामकरणकाे प्रक्रिया टुंगिने प्रदेशसभा सचिवालयले जनाएकाे छ।
काेशी प्रदेशकाे पक्षमा एमाले, कांग्रेस, माओवादी केन्द्र र राप्रपा देखिएकाले उक्त प्रस्ताव पारित हुने देखिएकाे छ । उक्त प्रस्तावकाे विपक्षमा ४ जना प्रदेश सांसद भएकाे नेकपा (एकीकृत समाजवादी) र एक जना मात्रै प्रदेश सांसद भएकाे जनता समाजवादी पार्टी रहेका छन् । प्रदेशसभाकाे नामकरणका लागि प्रदेशसभामा कायम रहेका दुई तीहाई सांसदकाे समर्थन हुनुपर्ने संवैधानिक व्यवस्था छ ।
प्रदेश नामकरणका लागि ६२ जना सांसद आवश्यक हुन्छ । प्रदेशसभामा एमालेका ४०, कांग्रेसको २९, माओवादीको १३, राप्रपाको ६, नेकपा एसको ४ र जसपाको १ जना सांसद छन् ।







प्रतिक्रिया