कैलाली – कैलालीमा स्कूल बसको ठक्करबाट एक वृद्धाको ज्यान गएको छ । मृत्यु हुनेमा गोदावरी नगरपालिका–६ को खैरानाकी ६५ वर्षीया बाटुबट्टे आलेमगर हुनुहुन्छ ।
पूर्वपश्चिम राजमार्ग अन्तर्गत गोदावरी नगरपालिका–६ को खैरानामा माउन्ट शैपाल स्कूलको से १ क ४४१ नम्बरको बसले ठक्कर दिँदा आलेमगरको मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्करबाट गम्भीर घाइते हुनुभएकी उहाँको उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको हो ।
आले मगरको शव परीक्षणका लागि प्रादेशिक अस्पतालमा राखिएको छ । ठक्कर दिने बस र चालक धनगढी उपमहानगरपालिका १३ बस्ने ३५ वर्षीय खुसीराम चौधरीलाई इलाका प्रहरी कार्यालय मालाखेतीले नियन्त्रणमा लिएको छ । यसैबीच, घटनाको विरोधमा स्थानीयले पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेका छन् । दोषीलाई कारवाही र मृतकका परिवारलाई क्षतिपूर्तिको माग गर्दै उनीहरुले राजमार्गमा अवरोध गरेका हुन् । राजमार्ग अवरोधका कारण सवारीसाधन चल्न सकेका छैनन् ।





प्रतिक्रिया