काठमाडौँ-नेयमारले यो सिजनका बाँकी खेल गुमाउने भएका छन्।
फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) का ब्राजिलीयन फरवार्ड नेइमारले खुट्टामा चोट बोकेपछि शल्यक्रिया गर्नुपर्ने भएकाले सिजनका बाँकी खेल गुमाउने भएका हुन्।
गत फेब्रुअरी १९ मा पिएसजीले घरेलु टोली लिलमाथि ४–३ ले को जित निकालेको खेलमा नेयमार घाइते भएका थिए।
क्लबका अनुसार उनको खुट्टाको शल्यक्रिया आवश्यक रहेको र उनी पूर्ण रूपमा फिट हुन कम्तीमा तीन देखि ४ महिना लाग्नेछ। यो बेलासम्म सिजनका बाँकी खेलहरु सकिनेछ।
३१ वर्षीय नेयमारले पछिल्ला केही वर्षयता दाहिने खुट्टामा लगातार चोट बोकिरहेको छन्। सन् २०२२ को विश्वकपमा सर्वियाविरुद्धको समूहको पहिलो खेलमा चोट लागेपछि उनले ब्राजिलका दुई खेल गुमाएका थिए।
बार्सिलोनाका पूर्व फरवार्ड नेयमारले दायाँ खुट्टाको लिगामेन्ट च्यातिएकै कारण सन् २०१९ को कोपा अमेरिका कपसमेत गुमाएका थिए।
यस्तै सन् २०२१ मा पनि सोही खुट्टाको चोटका कारण लामो समय मैदान बाहिर थिए।
नेयमारले यो सिजन पिएसजीका लागि २९ खेल खेल्दै १८ गोल र १० असिस्ट प्रदान गरेका छन् ।
क्रिस्टोफ गाल्टिएरको टोली फ्रेन्च लिग वानमा ८ अंकको अग्रता लिँदै तालिकाको शीर्ष स्थानमा छ। पिएसजीको २६ खेलबाट ६३ अंक छ। समान खेलबाटै मार्सेको ५५ अंक छ । पिएसजी ११ औं पटक फ्रेन्च लिग वानको उपाधि जित्ने तयारीमा छ।
पिएसजीले बुधबार राति च्याम्पियन्स लिग अन्तरगत प्रि–क्वाटरफाइनलको दोस्रो लेगमा जर्मन क्लब बायर्न म्युनिखसँग खेल्दैछ। पहिलो लेगमा पिएसजी १–० ले पछि छ । पिएसजीको सिजनको अन्तिम लिग खेल ३ जुनमा क्लेरमन्टसँग हुनेछ । च्याम्पियन्स लिगको फाइनल १० जुनमा हुनेछ।-एजेन्सी
प्रतिक्रिया