अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

रामसहाय प्रसाद यादवलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने जसपाको निर्णय

रामसहाय प्रसाद यादवलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने जसपाको निर्णय


काठमाडौं समाजवादी पार्टी (जसपा)ले रामसहाय प्रसाद यादवलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ ।

आज (बिहीबार) बसेको जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठकले केन्द्रीय कार्यकारिणी समिति सदस्य यादवलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको हो ।

पार्टीको केन्द्रीय कार्यालयमा बसेको कार्यकारिणी समितिको बैठकले यादवलाई उम्मेदवार बनाउने निर्णय गरेको प्रवक्ता मनिष सुमनले बताउनु भयो । जसपा संसदीय दलको नेता समेत रहेका यादव बारा २ बाट निर्वाचित हुनुभएको थियो ।

सत्ता गठबन्धनमा जसपाले उपराष्ट्रपति पाउने सहमति बनेको थियो । गठबन्धनको तर्फबाट राष्ट्रपतिमा कांग्रेसका रामचन्द्र पौडेल निर्वाचित भइसक्नुभएको छ । यादवलाई उपराष्ट्रपतिमा पठाएर उपनिर्वाचनबाट संसद भवन प्रवेश गर्ने अध्यक्ष उपेन्द्र यादवले तयारी गरेका छन् । जसपाले उपराष्ट्रपति पाउने सहमतिपछि अध्यक्ष यादवले उपनिर्वाचनको तयारी थालिसकेका छन् ।

अध्यक्ष यादव मंसिर ४ को निर्वाचनमा सप्तरी २ मा जनमतका अध्यक्ष डा. सिके राउतसँग पराजित हुनुभएको थियो ।