काठमाडौँ औ राष्ट्रपतिको निर्वाचन सम्पन्न भएसँगै निर्वाचन आयोगले शुक्रबार प्रतिवेदन पेश गर्ने भएको छ।
राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐन, २०७४ को दफा ६० बमोजिम आयोगले बिहीबारको निर्वाचनको परिणामसहितको प्रतिवेदन शुक्रबार राष्ट्रपतिसमक्ष पेश गर्ने कार्यक्रम रहेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो ।
आयोगले माघ १६ गतेको निर्णय अनुसार आजका लागि निर्धारित राष्ट्रपतिको निर्वाचन शान्तिपूर्ण र उत्साहपूर्वक सम्पन्न भएको विज्ञप्तिमार्फत जनाएको छ । निर्वाचनमा ३३ हजार ८०२ मतभार प्राप्त गरी राष्ट्रपतिको उम्मेदवार रामचन्द्र पौडेल राष्ट्रपति पदमा निर्वाचित हुनु भएको छ अर्का उम्मेदवार सुवासचन्द्र नेम्वाङले १५ हजार ५१८ मतभार प्राप्त गर्नुभएको थियो ।
निर्वाचनमा ३१३ संघीय सांसद र ५१८ प्रदेशसभा सदस्यले मतदान गरेका थिए ।
राष्ट्रपति निर्वाचनमा संघीय संसद्तर्फ ३३२ र प्रदेशसभा सदस्य ५५० गरी कूल ८८२ मतदाता कायम रहेको थियो । संघीय सांसद्को मतभार ७९ र प्रदेशसभा सदस्यको मतभार ४८ हुने व्यवस्था छ।
नव निर्वाचित राष्ट्रपति पौडेललाई निर्वाचन अधिकृतको कार्यालय, नयाँ बानेश्वरमा आयोजित कार्यक्रममा आजै प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले निर्वाचित भएको प्रमाणपत्र प्रदान गर्नुभयो । सो अवसरमा प्रमुख निर्वाचन आयुक्त थपलिया, आयुक्तहरू रामप्रसाद भण्डारी, डा. जानकी कुमारी तुलाधर र सगुन शम्शेर जबरा तथा आयोगका सचिव गोकर्णमणि दुवाडीलगायतले पौडेललाई हार्दिक बधाई एवं सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो ।






प्रतिक्रिया