काठमाडौं – प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्धको रिटमा आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ।
आज न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासमा सुनुवाइका लागि पेशी तोकिएको सर्वोच्च प्रशासनले जनाएको छ। आजको पेशी ट नम्बरमा परेको छ। हिजो न्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठको एकल इजलासमा पेशी तोकिए पनि बेन्च नै बस्न नसकेपछि स्थगित भएको थियो।
माघी पर्वका अवसरमा २०७६ माघ १ गते काठमाडौंको टुँडिखेलमा आयोजित कार्यक्रममा बोल्दै प्रचण्डले जनयुद्धमा मारिएका १७ हजारमध्ये ५ हजारको जिम्मा आफूले लिने बताउनुभएको थियो ।
यही अभिव्यक्ति बमोजिम पक्राउ गरी छानबिन गर्नुपर्ने माग गर्दै ज्ञानेन्द्रराज आरण, कल्याण बुढाथोकीलगायतले सर्वोच्चमा रिट दायर गर्नुभएको छ ।
यसअघि अदालत प्रशासनबाट दरपीठ भएको रिट न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र हरिप्रसाद फुयालको संयुक्त इजलासले शुक्रबार रिट दर्ता गर्न आदेश दिएको थियो।
प्रतिक्रिया