काठमाडौं – राष्ट्रपतिको उम्मेदवार बन्नुभएका नेकपा एमाले उपाध्यक्ष सुवास नेम्वाङले राष्ट्रपति निर्वाचनमा भएको खर्च सार्वजनिक गर्नुभएको छ ।
राष्ट्रपतिको उम्मेदवार बन्दा १६ हजार पाँच सय रुपैयाँ खर्च भएको विवरण नेम्वाङले निर्वाचन आयोगलाई बुझाउनु भएको हो।
एमाले सांसद महेश बर्तौलामार्फत् नेम्वाङले आयोगलाई बुझाएको विवरणमा प्रचार प्रसार गर्दा १० हजार र मसलन्द शिर्षकमा ६ हजार ५ सय रुपैयाँ खर्च भएको उल्लेख गरिएको छ।

बिहीबार भएको राष्ट्रपति निर्वाचनमा नेम्वाङ कांग्रेसका नेता रामचन्द्र पौडेलसँग पराजित हुनुभएको थियो । पौडेलले ३३ हजार ८ सय २ मतभार प्राप्त गर्नुभएको थियो भने नेम्वाङले १५ हजार ५ सय १८ मतभार प्राप्त गर्नुभएको थियो ।
राष्ट्रपति चुनावमा संघीय संसद्तर्फ ३१३ सांसद (२४ हजार ७२७ मतभार) ले मतदान गरेका थिए भने प्रदेशतर्फ ५१८ (२४ हजार ८ सय ६४ मतभार ) सांसदले मत दिएका थिए ।
चुनावी प्रक्रियामा सहभागी भएका सांसदहरुको कूल मतभार ४९ हजार ५९१ थियो । राष्ट्रपति निर्वाचित हुनका लागि २६ हजार ३ सय १५ आवश्यक पर्छ । राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनमा संघीय सांसद र प्रदेश सभा सदस्यहरूको हाल कायम रहेको मतभार ५२ हजार ६२८ थियो ।








प्रतिक्रिया