त्रिभुवन विश्वविद्यालय जनसंख्या अध्ययन केन्द्रीय विभागका प्राध्यापक बालकृष्ण माबोहाङले लेखेको पुस्तक ‘इःमानु निःमा’ अहिले बजारमा आएको छ। लिम्बू मातृभाषी र त्यसका आसपासका पाठकले बाहेक किताबको नाम धेरैले बुझदैनन् र यतातिर तानिदैनन् पनि । तर कसैको हात परिहालेमा त्यसभित्र उल्लेखित सन्दर्भ र यात्राले पाठकले किताब छोड्न पनि सक्दैनन्।
लिम्बू भाषामा राखिएको यो पुस्तकको नेपाली अर्थ चाहिं डुल्नु र बुझ्नु हुन्छ। अर्थात पुस्तकमा बालकृष्णले देशका विभिन्न भागमा डुलेर आफूले देखेका बुझेका कुराहरू जीवन्त रूपमा पाठकसामु पस्केका छन्। पूर्वको ताप्लेजुङदेखि पश्चिमको कैलालीसम्म र संखुवासभादेखि हुम्लासम्मको जनजीवनको जीवन्तता इःमानु निःमा मा पाइन्छ। पर्वते शब्द, लय र कतिपय ठाउँमा स्थानीय भाषाकै प्रयोगले पाठकलाई आफूसँगै यात्रा गर्दै गरेको अनुभुत गराउनु लेखकको ठूलो सफलता हो । रोल्पाको ह्वामा लेखक बालकृष्णलाई स्थानीय मगर्नीले आँटोको डल्लो दिंदै भनेको ‘अइ ! भाइ दे तब आँटो खानुहोस। तपाईंका तिर कस्तो खान्छौ तो, हाम्रो त यस्तै त हो।’
ताप्लेजुङको छिरुवामा पुग्दा उनै बालकृष्ण लिम्बूनीलाई लिम्बू कुरामा नै सोध्छन् ‘चा चामा खो: दोत्नु आयुमे ?’ (खाना खान पाइन्छ बोजु ?) बोजुले जवाफ फर्काउछिन् ‘खोदेतरो आखेन जना केवाई ?’ (पाइन्छ तर कति जना छौं ?)
लेखक हुम्लाको सिमकोट पुग्छन् र त्यहाँका लोक्ते सार्कीको कुरा उनकै लयमा यसरी सुनाउछन् ‘दिया खान्या हुँ ।नदिया घोप्टी हुँ ।..लाटा बुन्याको बुन्याई। हेरिदिने कोही नाई।’ स्थानीय जनजीब्रोका भाषा प्रयोग गरेर लेखकले राप्तीको मगरलाई आफ्नै गाउँ पुगेजस्तो बनाउछन् भने पूर्व लिम्बूलाई घरै पुगेको अनुभुति दिलाउछन् । त्यति मात्र होइन हुम्लीका दुःख सुनाएर कर्णालीबासीलाई आफ्नै भूगोलका व्यथा सुनाएको अनुभूति दिलाउछन् ।
पुस्तकमा ११ वटा अध्याय र ३७६ पृष्ठ छन् । लेखकले अध्ययन, अनुसन्धान र विभिन्न कामको सिलसिलामा देशका विभिन्न भूभागमा घुमडुल गर्दाको डायरीलाई पुस्तकको रुपमा प्रकाशन गरेको सहजै बुझ्न सकिन्छ। तर यती मिहिन गरी डायरी टिपोट देखिन्छ कि यो कसरी सम्भव भयो होला भन्ने हरेक पाठकलाई जिज्ञासा लाग्छ । लेखकले पहिलो पटक पुगेका ससाना ठाउँको नाम पनि पुस्तकमा उल्लेख गरेका छन् । कहिले नभेटेका मान्छेको नाम पनि दुरुस्त उतारेको छन् । त्यति मात्र हैन कुनै पात्र वा प्रसँगलाई दुई/तीन थरी दृष्टिकोणबाट व्याख्या गरेका छन् । जसले पुस्तकलाई विश्वसनीय र ओजिलो बनाएको छ ।
त्यो भन्दा महत्वपूर्ण कुरा त लेखकले धेरै ठाउँमा सन्दर्भ सामग्रीको उल्लेख गरेका छन् । विदेशी विद्वान लेखक तथा अनुसन्धानदाताहरूले उनी पुगेको ठाउँ,त्यहाँको समाज,वनस्पती आदिका बारेमा के लेखेका थिए, के पत्ता लगाएका थिए आदि कुराको सन्दर्भ उल्लेख गरेबाट थाहा हुन्छ लेखक लेख्न मात्र होइन लेखनपूर्व पनि बहुत अध्ययन गरेका छन् । उनी आफ्नो लेखनको विश्वसनीयतालाई बौद्धिक रुपबाट पुष्टी गर्न चाहन्छन् ।

रोल्पा भन्ने वित्तिकै आम नेपालीका मनमा एउटा डरलाग्दो शसस्त्र युद्धको उद्ध्भव थलोको झल्को आउछ। थवाङ त्यस्तै एउटा विद्रोही गाउँ । बालकृष्णले थवाङको विद्रोही स्वभावलाई विदेशीले कसरी चित्रित गरेका थिए भनेर अक्सफोर्ड विश्वविद्यालयका अध्यापिका इयान झार्केभिच,फ्रान्सेली मानवशास्त्री आन्ने से डेल्सको अध्ययन र उनीहरुको निष्कर्ष उल्लेख गरेका छन् । त्यति मात्र होइन ओलाङगोलाका यात्रा गर्दा लेलेप पुगेका लेखकले सन् १८५० मा बेलायती वनस्पतीशास्त्री जोन डाल्नट हुकरले त्यहाँ ५० वटा घर भएको तर अहिले त्यसको आधा घरमात्र त्यहाँ बाँकी रहेको उल्लेख गरेका छन् । यसबाट उक्त क्षेत्रबाट मानिसहरु किन बिस्थापित भएका होलान् भनेर पाठकको मनमा जिज्ञासा उत्पन्न हुन्छ। हुकरका प्रसँग लेखकले यो यात्रामा ठाउँ ठाउँमा गरेका छन् । हुकर घुमेको बेलाको समाज र अहिले आफू घुम्दाको समाज र वनस्पतीको तुलना पनि लेखकले ठाउँ ठाउँमै गरेका छन्।
ग्याब्लाबाट घुन्सा जाँदा फाले डाँडोमा पुग्दा लेखक भावुक हुन्छन् । जहाँ २००६ सेप्टेम्बर २३ मा हेलिकप्टर दुर्घटनामा परी डा.हर्क गुरुङ लगायत १४ जनाको ज्यान गएको थियो । हर्कसँगको संगत गरेका लेखकले त्यहाँ पुगेर एउटा कविता उनै हर्कको नाममा रचना गरेका छन् ।
तिमी आफैं पहाड थियौं, पहाडमै ठोकियौ
बरू पहराचाहिं पहिरो गयो
तिमी आफैं हिमचुली थियौ हिमाल झैं चुलियौ
अरु एउटा हिम श्रृंखला थपियौं।
लेखकले उत्तरी नेपालको तिब्बतसँगको साइनो सम्बन्ध, बिहेबारी, सिमावर्ती क्षेत्रको बसोबास, आम्दानीको स्रोत, शिक्षाको पहुँच, स्वास्थ्यको अवस्थाका बारेमा कुनै व्यक्ति विशेषलाई समाएर लामो चित्रण गरेका छन् । जसबाट त्यहाँको थितरित बुझ्न सजिलो भएको छ । किमाथाङकाबाट खाँदबारी छोराछोरीलाई स्कूल पुर्याउन झरेका भोटिनीहरुको प्रसंग होस वा ओलाङचुङका छेतेनका बाबुले याकको सुकुटी अमेरिकाको टेक्सासमा गरेको व्यापारको कुरा होस । हुँदाहुँदा छेतेनको बाबुले त अमेरिकी व्यापारीसँग १५ लाख रुपैंया लिनै बाँकी रहेको प्रसंग पढ्दा लाग्छ नेपालीहरुको व्यापारी दिमागलाई न पहाडले छेकेको छ न हिमालले । नत्र कहाँको अमेरिका,कहाँको ओलाङचुङ । कहाँबाट स्थापित भयो होला व्यापारिक नाता।
लेखकले ठाउँ ठाउँमा उधृत गरेका विदेशी लेखकहरुको सन्दर्भ पढ्दा लाग्छ सय ढेडसय वर्ष पहिले नै नेपालका गाउँ टोलका बारेमा विदेशीले किन यती चासो राखेर अध्ययन गरेका हुँदा हुन् ? जस्तै याङ्मा उपत्याकाको बारेमा इडेन भ्यान्सिटार्टले अध्ययन गरेका छन् सन् १८९६ मा । यस्तै हुकले १८५५ मै याङमामा ३ सयवटा घर भएको उल्लेख गरेका रहेछन् । त्यस्तै हैमन्डोर्फले तोक्पेका ल्होमीहरुको अध्ययन गरेको प्रसंग किताबमा पाइन्छ ।
नेपालको उत्तरी सिमाना ओलाङचुङगोला याक पालनको उर्वर क्षेत्र मानिन्छ। यहाँको याक व्यवसायलाई आधुनिक,उन्नत र गोलालाई समृद्ध बनाउन लेखकले सातवटा सुझाव पनि दिएका छन्। बाल्यकालमा गोलाको बाटो हुँदै तिब्बतबाट ल्याइएका खागी रंगका जुता लगाएका लेखकले टिपताला पास उ बेलै सुनेका रहेछन् । त्यसैले गोला पुग्दा टिपताला जाने उनको उत्कट चाहना बडो दुखले पुरा भएको देखिन्छ । खर्चको अभाव र विकट भूगोलका दुई प्रतिकुलतालाई चिर्दै लेखक झण्डै पाँच घण्टाको अनवरत ठाडो उकालो कटेर टिपताला नाका पुगेर नेपाल चीनको ७९ नंम्बरको पिल्लर छोएको कुरा गौरवका साथ उल्लेख गर्छन् । उकालो चढ्दा हत्तु भएका लेखक रोमान्चक रुपमा सुसेलीमै गीतकार र गायकको रुपमा पनि प्रष्तुत हुन्छन्
उकाली बाटो सासै बढ्यो
टिपताला भञ्ज्याङ पासै पर्यो….।
इ:मानु निःमा पुस्तक लेखकको विस्तृत यात्रा विवरण हो । पत्रकारितामा फिचर लेखे जस्तो जीवन्त प्रष्तुती र स्थानीय जनजीब्रोका शब्द प्रयोग भइदिदा पुस्तक थप रोचक बनेको छ । साइन्स व्याकग्राउण्डबाट आएका बालकृष्णले स्नात्तकोत्तरचाँही कला विधाको जनसंख्या अध्ययनमा गरेका हुन्। उनको सामाजिक विधाचाँही आदिवासी जनजातीको अधिकार,उत्थान, शसक्तिकरणको वकालत हो। जसले गर्दा उनको रुची र कर्मको क्षेत्र समाजको अध्ययन,मानिसको बसाईंसराईं त्यसले जनसंख्यालाई पार्ने प्रभाव आदिका बारेमा अध्ययन गर्नु हो। हरेक ठाउँमा उनले जनजातीय दृष्टिकोणबाट विषयवश्तुहरुलाई प्रष्तुत गरेका छन्। शायद तिनै कामको शिलशिलामा उनी नेपाल घुमे होलान्। सन् १९९४ देखि २०२२ सम्म उनले जम्मा ११ वटा यात्रा गरेका रहेछन् । तिनै ११वटा यात्रा भित्रका उपयात्राहरू, जिल्ला गाउँ, टोल, खोंच, हिमाल, फाँट, दिन, रात, साँझ विहानका हिंडाइ भेटिएका मानिस, देखिएको भूगोल, प्रकृति आदिको समुच्च कथा नै इःमानु निः मा हो।
११वटा यात्रा भित्रका उपयात्राहरू, जिल्ला गाउँ, टोल, खोंच, हिमाल, फाँट, दिन, रात, साँझ विहानका हिंडाइ भेटिएका मानिस, देखिएको भूगोल, प्रकृृति आदिको समुच्च कथा नै इःमानु निः मा हो ।
खासमा कुनै फम्यार्ट बिना नै लेखिएको यो पुस्तक लेखकको यात्रा जस्तै छ। यात्रामा भेटिएका,हिडेका,झाडी बुट्यान, होटेलमा बास बस्दा स्थानीयसँग गरिएका कुराकानी, यात्रु साथीहरुसँग गरेका लम्बेतान कुराकानीलाई लेखकले सहजै उतारेका छन् । उनको यो कलाले हर पाठकलाई उनीसँगै यात्रामा हिडाउछन् । पुस्तक पढ्दा यो पंक्तिकारले यात्रा गरेका ठाउँमा पनि लेखक पुगेका छन् । जस्तै लेलेप पुगेपछि यो पंक्तिकारलाई लाग्यो लेखक लुङथुङ पुगे कि पुगेनन् होला ? लुङथुङ पुगे भने त्यहाँ डने शेर्पालाई भेटे कि भेटेनन् होला ? तर पढ्दै जाँदा त लेखकले लुङथुङका डने शेर्पाको घरमै पुगेर तोङ्बा तानेका रहेछन् । यो पंक्तिकार पनि उनै डनेको घरमा २०५८ सालमा आलुको खाजा खाएर फर्केको थियो।
गाउँघरतिर नयाँ मान्छेलाई सोधिने ‘के थरी पर्नुभो ?’ ‘घर कहाँ हो ?’ ‘खै कोनि’,‘पर्दैन पो ।’ जस्ता शब्दको प्रयोगले लेखक पाठक संवाद गराइरहेको जस्तो आभास हुन्छ। बीचबीचमा लिम्बू भाषा, अंग्रेजी भाषाको प्रयोगले पनि मातृभाषा र अन्तराष्ट्रिय भाषामा लेखकको ज्ञानलाई थप उजागर गरेको छ।
पुस्तकको सुरुवात देखि नै लेखक अलिबढी जातिवादी भइदिन्छन् । याक्थुङ्बा जातीको इतिहास,संस्कृति,भाषा आदिमा लेखकको विशेष रुची देखिन्छ। त्यसमा देखिएको रुचीका कारण अमुक जातीलाई बेप्रसँगै आलोचना गरेको ठाउँठाउँमा महसुष गर्न सकिन्छ । जस्तै पेज नं ८६ मा लेख्छन् ‘हुन त मधेसी,बाहुन क्षेत्रीको निधारमा कर्ममा जागिरे हुने भए झैं…..।’ लेखक २०७१ सालमा पोखराको भ्रमणका भएका बेला उनका एकजना सहकर्मीबीच भएको राजनीतिका दुईजना नेताको प्रसँग उल्लेख नगरेको भए पनि हुने देखिन्छ । अर्को कुरा लेखकले तोक्पेगोलाको भ्रमणका बेला त्यहाँको ऐतिहासिकता,प्राकृतिक सुन्दरता आदिको वर्णन गरे पनि त्यहाँको ढोक्प्या जातीको विषयमा केही उल्लेख नगर्दा जान्ने बुझ्नेलाई अली अपुरो महसुष हुन्छ ।
‘जनसंख्या र विकासको लाजनीति’ शिर्षक नै व्यंग्यात्मक जस्तो लाग्ने यो अध्यायमा लेखकको जनसंख्याका विविध आयाम र विकासका बारेमा विषय विज्ञता प्रष्टसँग झल्किन्छ। उनले नेपालको जनसंख्याको अवस्थालाई विविध तर्कहरु पेश गरेर सैद्धान्तिकिकरण गरेका छन् । विश्वका विभिन्न देशको जनसंख्या वृद्धि,जनसंख्याको बनावट,नेपालको जनसंखिक संरचनाको बदलिंदो स्वरुप आदिका बारेमा गहन ढंगले चर्चा गरेका छन् । त्यती मात्र होइन माल्थसको जनसंख्या सिद्धान्तले परिकल्पना गरेको जनसंख्या नियन्त्रणको सिद्धान्तलाई पनि विविध कोणबाट चिरफार गरेका छन् । यो अध्यायको इलामको प्रसँगमा लेखकले एउटा अनौठो तथ्य पेश गरेका छन्। उनी लेख्छन् ‘बंगालको खाडीबाट उठेर आउने बायुले निम्त्याउने हुस्सु र कुहिरोले हरदम जाडो र दिन उज्यालो नभएको कारण विशेषत बुढाबुढी (बुढ्यौली ) उमेरकालाई डिप्रेसन आउँदो रहेछ । र, तीन/चार जना एल्डर्ली (बुढाबुढी)ले सुसाइड (आत्महत्या) गरेको घटना छ ।’
जनसंख्या विज्ञ समेत रहेका बालकृष्णले छिमेकी भारत र चीनले जनसंखिक लाभको कसरी सदुपयोग गरेका छन् भन्ने उदाहरण पेश गरेका छन् । भारत सन् १९८० देखि जनसंखिक लाभको युगमा प्रवेश गरेको,चीन यो अवस्थाको अन्त्यमा रहेको तर उनीहरुले युवा जनसंख्याको प्रयोग मार्फत देशमा समृद्धि र विकास हासिल गरेको कुरा उनले पुस्तकमा उल्लेख गरेका छन्। सन् १९९२ देखि जनसंखिक लाभांसमा प्रवेश गरेको नेपालले मानव स्रोतको रुपमा रहेको जनसंख्यालाई उपयोग गर्न नसक्दा त्यसै खेर गइरहेको तर्फ चिन्ता गरेका छन् । बालकृष्णको भनाइ छ ‘सन् २०४५ मा नेपालबाट जनसंखिक लाभको समय सकिन्छ। त्यसको करिब आधा समय यतिकै सकीसको ।’
बालकृष्णले जनसंखिक क्षेत्रका लागि एउटा टर्निङ प्वोइन्टका रुपमा रहेको सन् १९९४ को कायरो सम्मेलनका बारेमा विस्तृत चर्चा गरेका छन् । त्यसभन्दा अघि र पछिका जनसंख्या व्यवस्थापनका विषयमा भएका अन्तराष्ट्रिय सम्मेलन,स्वदेशको आन्तरिक बसाईंसराईले उत्पन्न गरेको जनसंखिक असन्तुलनको चर्चा पनि पुस्तकमा पाइन्छ।
बालकृष्ण यति हिड्छन्, यति हिड्छन् पाठक नै गल्छन् तर उनी गल्दा रहेनछन् । पुस्तकका पाना पल्टाउदै जाँदा उनको पैदल यात्राको वर्णनले पाठकका खुट्टामा ठेला उठ्छन् तर उनी जस्ताको तस्तै । उही विहान भयो उठ्यो हिडिहाल्यो । ताप्लेजुङको तिरतुङबाट तोप्केगोला जाँदा त लेखक १२ घण्टा निरन्तर हिड्छन्। तर थकाइ लाग्यो भनेर उनी भन्दैनन् । त्यस्तै याङमाबाट गोला जाँदा रात परेर जंगलमा लड्दा पनि नडगमगाई हिडेको हिड्यै गर्छन् । त्यस्तै थुदाम किमाथाङ्काको उनको पैदल यात्राले पाठकलाई गलाउछ तर लेखक गल्दैनन् । यो यात्रामा उनले ५२ सय मिटरको उचाइको थाङ्ला पाससम्म पाठकलाई सँगसँगै लैजान्छन्। उनको यो हिडाइ बेजोडै मान्नुपर्छ । तेह्रथुमको यात्राका क्रममा पाँचकिलो घट्ने लक्ष्य राखेका लेखक दुई किलो मात्र घट्दा दुखि पनि छन्।
लेखकले यात्रा गर्न चाहनेहरुलाई सजिलो उपाय पनि सिकाइदिएका छन् । यात्राको क्रममा सामाजिक सञ्जालमा उनले राखेका तस्विर र स्टाटस हेर्दा लाग्थ्यो उनी निजी जीपमा यी सबै यात्रा गर्दैछन् । कुनै अनुसन्धानको प्रोजेक्टमा गाउँ बस्ती घुम्दैछन् । तर होइन रहेछ । उनी सजिला यात्री रहेछन् । सकेसम्म पैदलै हिड्ने । भेटे सावर्जनिक सवारीमा झुण्डिएर भए पनि यात्रा गर्ने । उनले विराटनगर काठमाडौ,काठमाडौ विराटनगर,नेपालगञ्ज काठमाडौं नेपालगञ्ज हुम्लाचाँही जहाजमा गरेका छन् । त्यस बाहेका अधिकांस ठाउँमा पैदल र सार्वजनिक सवारीमा यात्रा गरेका छन् । सार्वजनिक सवारीमा यात्रा गर्दा उनले ‘अनकण्डिसनल च्याटिङ’को अवसर पनि छोपेका छन्,संखुवासभातिर । सार्वजनिक सवारी वा पैदल यात्रा गर्दा निजी सवारीमा भन्दा अथाह बढी सुचना र जानकारी पाउन सकिन्छ भन्ने एउटा गतिलो उदाहरण पनि हो इःमानु निःमा ।
तोक्पेगोला घुम्दै गर्दा लेखकलाई के झोक चल्छ कुन्नी एक्कासी इःमानु निःमाको प्रसंग झिक्छन् पृष्ठ १८८ मा । इमा र निमाले निश्चय नै मान्छेको स्वास्थ्य,ज्ञानको दायरा र मात्रा बढाउने अवसर हो । यात्रालाई त्यसैगरी लिनु पर्छ भन्ने लेखकको धारणा छ।
पुस्तक यात्रा संग्रहको डायरी हो। तर लेखकले आफ्नो यात्राका तिथीमितीलाई सम्झन सक्ने मिति हालेका छैनन् । एउटा नमिल्दो के छ भने दुरदराजका पहाडी गाउँ घुम्न निस्केका लेखकले अंगे्रजी मितीको प्रयोग गरेर पाठक बेला बेला झुक्न्छिन् । यात्रा मितिलाई सिलसिलेवार बनाएको,दैनिकीको रुपमा हरेक दिनको मिती लेखिदिएको भए पाठकहरु लेखकसँग झनै समिपमा रहेर यात्रा गरेको अनुभुती गर्नेथिए । कथ्य भाषामा लेखिएको यो पुस्तक पढ्दा दुरदराजमा पैदल घुम्न नसकेका पाठक घरमै बसीबसी बालकृष्ण मोवोहाङसँगै रोल्पा देखि ओलाङचुङगोला,किमाथाङका देखि सिमिकोट हुँदै हेलम्बूसम्म एक फन्को मारेर आफ्नै घरमा सकुशल आइपुग्छन् ।
प्रतिक्रिया