उदयपुर – उदयपुरको रौतामाई गाउँपालिका-८ पाबुको पाखाटोलस्थित राम बहादुर बुर्जा मगरको घरमा आगलागी हुँदा एक बालक र एक बालिका जलेर मृत्यु भएको छ।
बुर्जा मगरको घरमा शुक्रवार दिउँसाे करीब ३: ४५ बजेतिर अचानक आगालागी भएको थियो । उक्त आगालागीमा परी मगरका ६ वर्षिया छाेरी जस्मिन मगर र दुई वर्षिय छोरा रोजन मगरको मृत्यु भएको हो ।
घरमा आगलागी र मानवीय क्षति देखेर मृतकका २४ वर्षिया आमा जमुना मगर र ६० वर्षिया हजुरआमा खड्गी माया मगर बेहोस हुनु भएको छ। उहाँहरुलाई उपचारका निम्ति गाइघाट जिल्ला अस्पताल लगिएको एक स्थानीयले बताउनु भयाे ।
मगरको माटो र ढुङ्गाले बनेको दुईतले घरमा आगलागी हुँदा मानवीय क्षती सँगै सबै सामाग्रीहरु जलेर नष्ट भएको छ । आगलागीमा मगरको सुनचादी, अन्नपात, लत्ता कपडा, भाँडा भर्तन सबै जल्दा करीब १० लाख बराबरको क्षति पुगेको छ । आगो स्थानीय र प्रहरीले ६ बजे नियन्त्रणमा लिन सफल भएको थियो।
आगलागी हुँदा घरमा काेही पनि नभएकाे मगरकाे छाेरा र छाेरीलाई बचाउन नसकेकाे एक स्थानीयले बताउनु भयो । उहाँले भन्नुभयो, ‘आमा दाउरा लिन जानुभएकाे रहेछ । बुवा चाहिं गाउँ जानु भएकाे रहेछ भने हजुरआमा गाई गाेठालाे जानु भएकाे रहेछ । आगलागी गाउँले थाहा पाएपछि अरु छिमेकी र वडाअध्यक्ष, इलाका प्रहरी कार्यालय भुट्टार र जिल्ला प्रहरी कार्यालय उदयपुरलाई खबर गरेकाे हाे ।’
इलाका प्रहरी कार्यालय भुट्टारबाट प्रहरी टोली र जिल्ला प्रहरी कार्यालय उदयपुरबाट प्रहरी निरिक्षकको टोली हाल घटना स्थल गएर थप अनुसन्धान गर्ने क्रम जारी रहेको छ । घटना स्थल सदरमुकामबाट करिब ४५ किलो मिटर र रौतामाई गाउँपालिका भुट्टार बाट ६ किलो मिटर टाढा रहेको छ।
यसअघि पनि रौतामाई गाउँपालिका वडा–४ र वडा नम्बर ५ मा आगलागी भएको थियो । तर मानवीय क्षति चाहिं भएकाे थिएन ।






प्रतिक्रिया