काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सत्ता गठबन्धनलाई रावणको संज्ञा दिनुभएको छ।
आज पार्टी केन्द्रिय कार्यालय च्यासलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले वर्तमान गठबन्धनलाई रावणको संज्ञा दिनुभएको हो ।
अध्यक्ष ओलीले १० वटा टाउका एकै ठाउँमा रावणको मात्रै रहेको उल्लेख गर्दै वर्तमान १० दलीय गठबन्धनलाई रावणको रुपमा चित्रित गर्नुभयो । उहाँले भन्नुभयो, ‘१० टाउका एकै ठाउँमा भएपछि भयंकर बिध्वंस मच्चाउँछ ।’
अध्यक्ष ओलीले सत्ता गठबन्धनप्रति इंगित गर्दै उहाँले अहिलेको रावणले फेरि महिलाका हक अधिकार हरण गर्न लागेको आरोप लगाउनुभयो । उहाँले स्थानीय तहको निर्वाचनमा महिलाका हक अधिकारहरु चलाखीसाथ, कपटपूर्ण ढंगले हरण गरिएको दाबी गर्दै राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनमा पुरुष र महिला मिलाउनु अनिवार्य हुनैपर्ने संवैधानिक व्यवस्था भएपनि वर्तमान गठबन्धनले त्यसलाई बेवास्ता गरेको बताउनुभयो ।

अध्यक्ष ओलीले नेकपा एमालेले उपराष्ट्रपतिको उम्मेदवारमा उठाएको उम्मेदवार पार्टीका उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले जित्नै पर्ने बताउनु भयो । उहाँले १० दलीय गठबन्धनले पुरुष राष्ट्रपति भइसकेपछि महिला उपराष्ट्रपति हुनैपर्ने संविधानको मर्ममाथि प्रहार गरेको आरोप लगाउनुभयो । उहाँले निार्वचन आयोगलाई समेत गठबन्धनले उपराष्ट्रपति पदमा महिला हुनु नपर्ने भन्ने प्रयोग गरेको आरोप लगाउँदै अझै अन्य संस्थाहरु पनि प्रयोग गर्नसक्ने बताउनुभयो ।
अध्यक्ष ओलीले जित्ने आधारहरु रहेपनि बोल्नु वाञ्छनीय नहुने बताउनुभयो । उहाँले गठबन्धनभित्र धेरै प्रकारका समस्या रहेको तर एमालेभित्र कुनै समस्या नरहेको जिकिर गर्नुभयो ।
उहाँले अहिले राष्ट्रिय राजनीतिमा अरु सबै दल एकातिर र एमाले एक्लै एकतिर भइरहेको भएपनि त्यसलाई नराम्रो मान्नु नपर्ने बताउनुभयो । उहाँले बहुदलीय व्यवस्थामा १० थरी १० तिर हुनुभन्दा १० थरी एकै ध्रुवमा समाहित हुन राम्रो रहेको बताउनुभयो ।
अध्यक्ष ओलीले १० दलका नेताहरुको मानसिकता डरलाग्दो रहेको बताउनुभयो । उहाँले १० दलीय गठबन्धनलाई प्रतिगामी शक्तिको संज्ञा दिनुभयो । उहाँले अहिलेको गठबन्धन अघि जाने नभइ पछि सर्ने काम गरिरहेको बताउनुभयो । उहाँले दक्षिणपन्थी गठबन्धनले दक्षिणपन्थताको पनि अनुदार विचार र व्यवहारतिर देशलाई धकेल्न खोजेको आरोप लगाउनु भयो।
अध्यक्ष ओलीले उपराष्ट्रपतिमा एमालेबाट उम्मेदवार शाक्यले नै जित्नुपर्ने बताउनुभयो । उम्मेदवार शाक्य पराजित हुनु भनेको अहिलेसम्म महिलाहरुकले पाएका उपलब्धि र सामाजिक न्याय तथा समानताको आन्दोलनबाट प्राप्त उचाईलाई पछाडि फर्काउनु रहेको बताउनुभयो । उपराष्ट्रपतिमा शाक्यलाई जिताउन लाग्न पनि पार्टीका सांसदहरुलाई निर्देशन दिनुभयो ।







प्रतिक्रिया