काठमाडौँ-नेपाली राष्ट्रिय क्रिकेट टोलीले एकदिवसीय अन्तर्राष्ट्रिय वरीयतामा सुधार गरेको छ। आइसिसी क्रिकेट विश्वकप लिग–२ को पछिल्लो समय उत्कृष्ट प्रदर्शन गरेको नेपालले वरीयतामा सुधार गरेको हो ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले मंगलबार सार्वजनिक गरेको ओडिआईतर्फको वरीयतामा नेपाल १६ औं स्थानमा उक्लिएको छ ।
योसँगै नेपालले ओडिआई वरीयतामा नामिबिया, यूएई, अमेरिका र पपुवान्युगिनीलाई पछि पारेको छ। १९ औं स्थानमा रहेको नेपालले तीन स्थान सुधार गर्दै १६ औ स्थानमा आएको हो ।
सात राष्ट्र सम्मिलित लिग–२ मा नेपाल ३५ खेलबाट ३८ अंक जोड्दै चौथो स्थानमा छ। लिग–२ मा शीर्ष तीनमा रहेर विश्वकप छनोटमा स्थान बनाउन नेपालले भोलि हुने अन्तिम खेलमा यूएईलाई हराउनुपर्नेछ।
नेपालभन्दा पछि रहेको नामिबिया १७ औं, अमेरिका १८औं, यूएई १९औं र पपुवा न्युगिनी २०औं स्थानमा छन्। नयाँ ओडिआई वरीयतामा भारत शीर्ष स्थानमा रहँदा अस्ट्रेलिया दोस्रो स्थानमा छ।
प्रतिक्रिया