अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

लिभरपुललाई हराउँदै रियाल च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा 

लिभरपुललाई हराउँदै रियाल च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा 


काठमाडौँ । करिम बेन्जेमाले दोस्रो हाफमा गरेको गोलमा रियाल मड्रिडले बुधबार राति लिभरपुललाई १–० ले तथा समग्रमा ६–२ ले हराउँदै यूईएफए च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा स्थान बनाएको छ ।

कीर्तिमानी १५औँ उपाधि जित्ने लक्ष्यमा रहेको रियालका लागि बेन्जेमाले ७८औँ मिनेटमा गरेको गोल निर्णायक बन्यो । बेन्जेमाले भिनियस जुनियरको पासमा गोल गरेका थिए ।

“च्याम्पियन्स लिगमा कुनै पनि खेल सहज हुँदैन । यो पनि एक जटिल खेल थियो । तर, यो सिजन प्रतियोगितामा धेरै लामो यात्रा तय गर्ने हाम्रो चाहनामा कत्तिको गम्भीर छौँ भनेर सुरुदेखि नै देखायौँ,’’ रियालका स्ट्राइकर बेन्जेमाले भने, ‘‘आज धेरै कठिन भयो । यो खेलको एक हिस्सा हो । महत्त्वपूर्ण कुरा जित्नु हो र अर्को चरण पुग्नु हो ।’’

घरेलु मैदानमा ५–२ ले पराजित भएका कारण लिभरपुललाई कम्तीमा तीन गोल अन्तरको जित चाहिएको थियो । लिभरपुलका प्रशिक्षक योर्गान क्लोपले पनि आक्रमक टिम बनाएका थिए । उनले मोहम्मद सालाह, कोडी गाक्पो, डिएगो जोटा र डार्विन नुनेजलाई पहिलो रोजाइमा खेलाएका थिए ।

नुनेजले छैटौँ मिनेटमा गोलको राम्रो अवसर खेर फाले । सालाहले विपक्षी रक्षक इडर मिलिटाओसँग बल खेसेर नुनेजका लागि अवसर सिर्जना गरिदिएका थिए । तर, उरुग्वेयन फरवार्ड नुनेजको प्रहार रियालका गोलकिपर थिबाउट कोर्तुवाले बचाए ।

रियालले भने काउन्टर अट्याकमा जोड दिएको थियो । त्यसका लागि प्रशिक्षक कार्लो एन्सेलोट्टीले ब्राजिलियन फरवार्ड भिनिसियस जुनियरलाई प्रयोग गरेका थिए । उनले दुईपटक फ्रान्सका स्ट्राइकर बेन्जेमालाई अवसर पनि सिर्जना गरिदिएका थिए । तर, बेन्जेमाले सदुपयोग गर्न सकेनन् ।

भिनिसियस जुनियर आफैँले पनि १४औँ मिनेटमा गोलको प्रयास गरेका थिए । उनको सशक्त भलीलाई लिभरपुलका गोलकिपर एलिसानले उत्कृष्ट बचाउ गरेका थिए ।

रियालका गोलकिपर कोर्तुवाले पनि नुनेज र गाक्पोका केही प्रहारलाई विफल बनाएका थिए । भिनिसियस जुनियरकै पासमा बेन्जेमाले ७८औँ मिनेटमा गोल गरे ।

च्याम्पियन्स लिगमा रियालसहित आठ टिमले स्थान पक्का गरिसकेका छन् । इटालियन क्लब नेपोलीले पनि गए राति जर्मन क्लब इन्ट्राचट फ्रांकफर्टलाई ३–० तथा समग्रमा ५–० ले हराउँदै क्वार्टरफाइनलमा स्थान बनायो ।

इटालीका एसी मिलान र इन्टर मिलानले पनि क्वार्टरफाइनलमा स्थान सुरक्षित गरेका छन् ।

यस्तै, इंग्लिस प्रिमियर लिगका म्यानचेस्टर सिटी र चेल्सीले क्वार्टरफाइनलमा स्थान बनाउँदा जर्मनीको बायर्न म्युनिख र पोर्चुगलको बेनफिकाले पनि क्वार्टरफाइनलमा स्थान बनाएका छन् । प्रतियोगितामा क्वार्टरफाइनलको ‘ड्र’ शुक्रबार सार्वजनिक हुनेछ ।-एजेन्सी