काठमाडौँ-नेकपा (एमाले) का प्रचार विभागका उपप्रमुख विष्णु रिजालले एमालेसँग गठबन्धन तोडेर प्रधानमन्त्री पुष्पकमल दाहालले कांग्रेससँग गठबन्धन गर्नुका परिणामहरू देखिन थालेका बताउनुभएको छ । यसका दूरगामी प्रभावहरु अझै बढ्दै जाने उहाँले उल्लेख गर्नुभयो ।
पार्टीको मिसन ग्रासरुट अभियान अन्तर्गत जुम्लाको चन्दननाथ नगरपालिका–९ उमगाठमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, ‘हामीसँगको समीकरण तोडेर कांग्रेससँग समीकरण बनाउनासाथ प्रचण्डले भारतबाट आउने तरकारीमा विषादी परीक्षण नगर्ने निर्णय गरे । अहिले चीनमा हुने बोआओ सम्मेलनको औपचारिक निम्ता अस्वीकार गरेर भारत भ्रमणमा जान पाउँ भनेर निवेदन हालिरहेका छन् । यसबाट उनको सत्ताको चाबी कहाँ छ र उनले कसका लागि काम गरिरहेका छन् भन्ने स्पष्ट हुन्छ ।‘
चुनावअघि दिल्लीमा प्रचण्ड र आरजु देउवाबीच भएको सहमति कार्यान्वयन गर्यौँ भनेर रिपोर्ट बुझाउनका लागि प्रचण्ड भारत जान हतारिएको हुन सक्ने आशंका रिजालले गर्नुभयो ।
वडाका अगुवा कार्यकर्ताहरु सहभागी रहेको उक्त कार्यक्रममा एमाले जुम्लाका अध्यक्ष शान्तिलाल महत, उपाध्यक्ष सुरतबहादुर शाही, नगर कमिटी अध्यक्ष धर्मेन्द्र रोकायलयायतका उपस्थिति थियो ।






प्रतिक्रिया