अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सुदूरपश्चिममा ३६ क्याम्पसमा मतदान

सुदूरपश्चिममा ३६ क्याम्पसमा मतदान


घोडाघोडी त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्र्तगतका सामुदायिक तथा आंगिक क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनकाे  मतदान भइरहेको छ। 

सुदूरपश्चिम प्रदेशका नौ जिल्लामा रहेका ३६ क्याम्पसमा तोकिएकै समयमा बिहान ८ बजेदेखि मतदान शुरु भएको हो। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले दिएको जानकारी अनुसार कैलालीका १०, कञ्चनपुरमा ६, डोटीमा ३, अछाममा २, बाजुरा एक, डडेल्धुरा १  बझाङ ९ र दार्चुलाका ४ क्याम्पसमा शान्तिपूर्ण वातावरणमा उत्साहजनक उपस्थितिमा मतदान भइरहेको हो ।

कञ्चनपुरको दानेश्वरहरी बहुमुखी क्याम्पस, बझाङको त्रिवेणी आर्दश बहुमुखी क्याम्पस र दार्चुलाको गोकुलेश्वर बहुमुखी क्याम्पसमा यस अघि नै निर्विरोध निर्वाचन भएको थियो।

सुदूरपश्चिम प्रदेशमा त्रिभुवन विश्वविद्यालय र सुदूरपश्चिम विश्वविद्यालय अन्र्तगतका २३ क्याम्पसमा स्ववियु निर्वाचन स्थगित भएको छ । चुनाव स्थगित हुनेमा अछाम ५ , कैलाली २, बैतडी २, कञ्चनपुर ९, डोटी १, दार्चुला १, बझाङ १ र बाजुरा २ क्याम्पस रहेका छन् ।

त्रिभुवन विश्वविद्यालयले सार्वजनिक गरेको स्ववियु निर्वाचनको कार्यतालिका अनुसार चैत्र ५ गते बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म मतदान समय रहेको छ । सुदूरपश्चिममा सबैभन्दा बढी विद्यार्थी संख्या रहेको घोडाघोडी बहुमुखी क्याम्पसमा पाँचवटा संघ संगठन र दुई स्वतन्त्र उम्मेदवार छन् ।

घोडघोडी बहुमुखी क्याम्पस स्ववियू निर्वाचन संयोजक चेतराज बिनाडीले बिहान ८ बजेदेखि नै शान्तपूर्ण वातावरणमा मतदान भइरहेको जानकारी दिनुभयो । उक्त क्याम्पसमा ५ वटा बुथबाट दुई हजार २४७ जना मतदाताले मतदान गरिरहेका छन् ।

उक्त क्याम्पसमा १९ सदस्य स्ववियु समितिका लागि प्रत्यक्ष र समानुपातिकतर्फको मतदान कार्य भइरहेको छ ।

त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक तथा त्रिवि केन्द्रिय स्ववियु निर्वाचन अनुगमन तथा समन्वय समितका सदस्य सचिव पशुपति अधिकारीले ६१ आंगिक क्याम्पस र ५०० बढी सामुदायिक क्याम्पसमा उत्साहपूर्ण उपस्थितिमा मतदान भइरहेको जानकारी दिनुभयो ।