अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेको अबको प्राथमिकता संगठन र जनजीविकामा- यामलाल कँडेल

एमालेको अबको प्राथमिकता संगठन र जनजीविकामा- यामलाल कँडेल


काठमाडौं -नेकपा एमाले स्थायी कमिटी सदस्य तथा कर्णाली प्रदेश इन्चार्ज यामलाल कँडेलले आफ्नो पार्टीको सम्पूर्ण ध्यान संगठन निर्माण र जनजीविकाका मुद्दाहरुको पैरवीमा केन्द्रित हुने उल्लेख गर्दै त्यसका लागि तयारीमा लाग्न कार्यकर्तालाई निर्देशन दिनुभएको छ ।
मिसन ग्रासरुट अभियान अन्तर्गत जुम्लामा भइरहेको कामका बारेमा अनुगमन गर्न आउनुभएका इन्चार्ज कँडेलले सोमबार विहान सदरमुकाम खलंगामा आयोजित चन्दननाथ नगर कमिटीको बैठकलाई सम्बोधन गर्दै उक्त कुरा बताउनुभएको हो । उहाँले भन्नुभयो, ‘एमालेलाई घेराबन्दी गर्ने काम भएको छ । यसलाई जनताको बलमार्फत् परिवर्तन गरेर अगामी निर्वाचनबाट बहुमतप्राप्त दलका रुपमा रुपान्तरण गर्न हामी अहिलेदेखि नै लाग्नुपर्छ । आफ्नो खुट्टामा दृढतापूर्वक उभिन सक्यौँ भने मात्रै हामीले अरुका घेराबन्दीलाई चिर्न सक्छौँ । त्यसका लागि संगठन निर्माण जनताका जीविकाका प्रश्नहरुलाई हामीले महत्वका साथ उठान गर्नुपर्छ ।‘
इन्चार्ज कँडेललेआफूले जुम्लाको अवस्था हेर्दा नेकपा एमालेप्रति आकर्षण र विश्वास पर्याप्त मात्रामा रहेको पाए पनि होहल्ला गर्ने, मरेको राजतन्त्रलाई जिउँदो बनाउँछौँ भनेर यहाँका दुर्गम वस्तीमा भ्रम छर्नेहरुले चुनाव जितेको पाउँदा आश्चर्य लागेको बताउनुभयो । पार्टीको समानुपातिक मत जति पनि आफ्नो उम्मेदवारलाई मत नआउने स्थितिको अन्त्य गर्नासाथ जुम्लामा एमालेले विजय हासिल गर्ने विश्लेषण उहाँले सुनाउनुभयो ।


बैठकमा जुम्लाका लागि केन्द्रीय प्रतिनिधिका रुपमा खटिनुभएका केन्द्रीय सदस्य विष्णु रिजालको पनि उपस्थिति थियो ।
नगर कमिटीका अध्यक्ष धर्मेन्द्र रोकायको अध्यक्षतामा आयोजित बैठकमा हालसम्मको मिसन ग्रासरुट अभियानको समीक्षा गर्दै नगरभित्र अझ प्रभावकारी बनाउनेबारेमा कार्ययोजना बनाइएको छ ।
जुम्लामा अभियानका अनुगमनका लागि इन्चार्ज कँडेल आइतबार जुम्ला आइपुग्नुभएको हो । आइतबार साँझ नै उहाँले जुम्ला जिल्लाभरको समग्र कामका बारेमा जुम्लाका खटिनुभएका केन्द्रीय प्रतिनिधि र जिल्लाका पदाधिकारीहरुसँग बैठक बसी जानकारी लिनुभएको थियो । जुम्लामा भइरहेका कामका बारेमा केन्द्रीय प्रतिनिधिहरु विष्णु रिजाल, नगेन्द्र शाही र गेहेन्द्र दाहालका साथै जिल्ला अध्यक्ष शान्तिलाल महत, उपाध्यक्ष सुरतबहादुर शाही र सचिव धनकृष्ण पाण्डेले जानकारी दिनुभएको थियो । अभियानलाई थप सशक्त र प्रभावकारी रुपमा सञ्चालन गर्न उहाँले निर्देशन दिनुभएको थियो ।