अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कोशी प्रदेशको नाम फेरिदैन – मुख्यमन्त्री कार्की

कोशी प्रदेशको नाम फेरिदैन – मुख्यमन्त्री कार्की


ओखलढुंगा- कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशको नाम परिवर्तन नहुने बताउनुभएको छ।

नयाँ योजना शिलान्यास र सम्पन्न भएका आयोजना हस्तान्तरण तथा उद्घाटनका लागि आइतबार ओखलढुंगा पुगेका मुख्यमन्त्री कार्कीले रुम्जाटारमा कोशी नाम सर्वस्वीकार्य नाम भएकाले तत्काल प्रदेशको नाम परिवर्तन नहुने बताउनुभएको हो।

लामो समय नामविहीन प्रदेशमा आफू मुख्यमन्त्री भएपछि ९० प्रतिशत सांसदको बहुमतले कोशी नाम पारित गरेको बताउँदै उनले तत्काल नाम संशोधनका विषयमा छलफलसमेत नहुने बताउनुभयो। नामको विषय छाडेर प्रदेशको समृद्धिमा लाग्न आग्रह भन्नुभयो ।

‘कोशी सबैको सभ्यता र पहिचानसँग मात्रै होइन मानव जीवनसँग पनि जोडिएको नाम हो। ९० प्रतिशतभन्दा बढी सांसदले पारित गरिसकेको यो नाम अब परिवर्तन त होइन नामका विषयमा छलफलसमेत हुँदैन,’ उहाँले भन्नुभयो, ‘हिजो नाम भएन भन्नेहरू आज नाम मन परेन भनेर आन्दोलन गर्दैछन्, यस्तो बाटोमा हिँडेर गन्तव्यमा पुगिन्न। बरु प्रदेश कसरी समृद्ध बन्छ त्यो सुझाव दिनुस्।’

देशमा राजनीतिक स्थायित्व नहुँदा नेपालीहरूले दुःख पाएको बताउँदै उनले अब राजनीतिक स्थायित्व र आर्थिक समृद्धिमा लाग्नुपर्ने बताउनुभयो।

प्रदेशको नाम कोशी राखेको भन्दै पहिचानपक्षधरहरूले विरोध प्रदर्शन गर्दै आएका छन्। उनीहरूले प्रदेशको नाम पहिचानसँग जोडिएको हुनुपर्ने माग राखेका छन्।

आइतबार पनि विराटनगरमा विशाल प्रदर्शन भएको थियो। जिल्ला प्रशासन कार्यालय मोरङले उक्त प्रदर्शन रोक्न निषेधाज्ञा समेत जारी गरेको थियो। तर उक्त निषेधाज्ञा तोडेर उनीहरूले प्रदर्शन गरे। जसकारण ढुंगामुढा भएको थियो भने प्रहरीले पनि अश्रु ग्यास प्रहार गरेको थियो।

पूर्वमन्त्री अम्बिरबाबु गुरुङले ओखलढुंगामा गरेको विकास निर्माणको कामलाई प्रशंसा गर्दै मुख्यमन्त्री कार्कीले पुराना आयोजनालाई सम्पन्न गरिने र नयाँ योजनालाई उत्पादनसँग जोडिने बताउनुभयो। कृषि आधुनिकीकरण, पर्यटन प्रवर्द्धन र युवा स्वरोजगारका कार्यक्रमलाई प्रदेश सरकारले प्राथमिकता दिने मुख्यमन्त्री कार्कीको भनाइ थियो।