अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

रुपन्देहीका ६ क्याम्पसमा अनेरास्ववियु र नेविसंघको बराबरी

रुपन्देहीका ६ क्याम्पसमा अनेरास्ववियु र नेविसंघको बराबरी


भैरहवा रुपन्देहीमा स्वतन्त्र विद्यार्थी युनियनको चुनाव भएका ६ वटा क्याम्पसमध्ये अनेरास्ववियु र नेविसंघले बराबरी संख्यामा जितेका छन् । १२ क्याम्पसमा स्ववियु निर्वाचनको लागि संगठन दर्ता भए पनि ६ वटामा संगठनहरुबीचको विवादका कारण रोकिएको छ।

नतिजा सार्वजनिक भएका क्याम्पसमध्ये बुटवल बहुमुखी क्याम्पस, देवदह आदर्श क्याम्पस र हरैया बहुमुखी क्याम्पसमा एमाले निकट अनेरास्ववियुका उम्मेदवार विजयी भएका छन् भने सियारी ४ छपियास्थित लीलाधर घिमिरे छपिया जनता कलेज, सैनामैनाको रामापुरस्थित सहिद नारायण पोखरेल क्याम्पस र शुद्धोधनको  फर्साटिकरस्थित यज्ञोदय दूधनाथ थारु क्याम्पसमा नेविसंघका उम्मेदवार विजयी भएका हुन् ।

यस क्षेत्रको पुरानो र धेरै विद्यार्थी भएको बुटवल बहुमुखी क्याम्पसमा अनेरास्ववियुका दुर्गाबहादुर एमसी निर्वाचित हुनुभएको छ। उहाँले अखिल क्रान्तिकारीका शिवबहादुर खवासलाई पराजित गर्नुभएको हो । यहाँ अनेरास्ववियुलाई छैटौँले साथ दिएको थियो। अन्य ६ वटा संगठन एकल लडेका थिए । त्यसैगरी, देवदह आदर्श बहुमुखी क्याम्पसमा अनेरास्ववियुको प्यानल विजयी भएको छ । कञ्चन गाउँपालिकामा रहेको हरैया बहुमुखी क्याम्पसमा अनेरास्ववियुका प्रदिप शर्मा विजयी हुनुभएको छ । हरैया क्याम्पसमा अनेरास्ववियु, जनमत विद्यार्थी संघ र लोकतान्त्रिक विद्यार्थी संघको संयुक्त प्यानल बनेको थियो ।

सियारी गाउँपालिकाको लीलाधर घिमिरे छपिया जनता कलेजको स्ववियु अध्यक्षमा नेपाल विद्यार्थी संघका अभिषेककुमार यादव विजयी हुनुभएको छ । फर्साटिकरको यज्ञोदय दूधनाथ क्याम्पसमा महेश चौधरी विजयी हुनुभएको छ । त्यसैगरी सहिद नारायण पोखरेल रामापुर क्याम्पसमा नेविसंघकै मनोज बेलबासे विजयी हुनुभएको छ । यहाँ नेविसंघले अखिल क्रान्तिकारी, अखिल विप्लव र अखिल समाजवादीसँग मिलेर चुनाव लडेको थियो ।

अब निर्वाचन हुन बाँकी रहेका ६ वटा क्याम्पसमध्ये भैरहवा बहुमुखी क्याम्पस र पक्लिहवा कृषि  क्याम्पसमा ८ गते मिति तोकिएको छ भने लुम्बिनी वाणिज्य क्याम्पस, राममणि क्याम्पस, सिद्धार्थ गौतमबुद्ध क्याम्पसमा निर्वाचनको मिति टुंगो लागेको छैन ।