उदयपुर – उदयपुरको रौतामाई गाँउपालिका-८ पाबु पाखाटोल निवासी अग्नी पीडित रामबहादुर बुर्जा मगरलाई रौतामाई गाउँपालिका-७ मुकुर्ची बजारका शिक्षक र व्यावसायीहरुले आर्थिक सहयोग गरेको छ।
अग्नी पीडित परिवारलाई मुर्कुची बजारमा रहेको व्यावसायी र शिक्षकहरुले सहयोग संकलन गरी जम्मा रु.४२ हजार ३४५ सहयोग गरेको व्यवासायी उद्धव राउतले जानकारी दिनुभयो ।
गत फागुन २६ गते मगरको दुईतले घरमा विद्युत सर्ट भई अचानक आगलागी हुँदा घरमा रहेका अन्नपात, लत्ताकपडा, भाडावर्तन जलेर नष्ट भएको थियो। उक्त आगालागीमा परी मगरका ६ वर्षिया छोरी जस्मिन मगर र दुई वर्षिय छोरा रोजन मगरको मृत्यु भएको थियो। सो घटनामा मानविय क्षति बाहेक झन्डै दश लाख बराबरको क्षति भएको थियो। यसअघि पनि रौतामाई गाउँपालिका वडा-४ नचनेबतासे र वडा नम्बर ५ मा आगलागी भएको थियो तर मानवीय क्षति चाहिं भएको थिएन। यो मानवीय क्षतिले यतिखेर पाबु गाउँनै शोकमा डुबेको छ। त्यसैले अग्नी पीडित मगरलाई सहयोगी दाताहरुले आर्थिक सयोग गरिरहेको छ।

राम मगर भन्नुहुन्छ, ‘घर, घरमा रहेको अन्नपात, लत्ताकपडा, भाडा वर्तन र अन्य महत्वपूर्ण कागजपत्र समेत जलेको छ। आगलागी हुँदा भाग्न नसकेर ६ वर्षिया छोरी र दुई वर्षिय छोरा गुमाउनु पर्दाको पीडा मलाई मात्र थाहा छ। मैले अब जति पैसा भएपनि छोराछोरी त पाउन सक्दिनँ । शायद मेरो पीडा देखेर होला सहयोगी दाताहरुले आर्थिक सहयोग गरिरहनु भएको छ। सहयोगी दाताहरुलाई विशेष धन्यवाद दिन चाहन्छु ।’






प्रतिक्रिया