अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पार्टीको ध्यान जनजीविकाका मुद्दाको पैरवीमा केन्द्रित हुनुपर्छ : यामलाल कँडेल

पार्टीको ध्यान जनजीविकाका मुद्दाको पैरवीमा केन्द्रित हुनुपर्छ : यामलाल कँडेल


जुम्ला-नेकपा (एमाले) स्थायी कमिटी सदस्य तथा कर्णाली प्रदेश इन्चार्ज यामलाल कँडेलले आफ्नो पार्टीको सम्पूर्ण ध्यान संगठन निर्माण र जनजीविकाका मुद्दाहरूको पैरवीमा केन्द्रित हुने बताउनुभएको छ । 

नेता कँडेलले त्यसका लागि तयारीमा लाग्न कार्यकर्तालाई निर्देशन दिनुभएको छ । मिसन ग्रासरुट अन्तर्गत जुम्लामा भइरहेको कामका बारेमा अनुगमन गर्न आउनुभएका इन्चार्ज कँडेलले सदरमुकाम खलङ्गामा आयोजित चन्दननाथ नगर कमिटीको बैठकलाई सम्बोधन गर्दै एमालेलाई घेराबन्दी गर्ने काम भएको बताउनुभयो ।

आगामी निर्वाचनबाट बहुमतप्राप्त दलका रूपमा रूपान्तरण गर्न पार्टीका सबै नेताकार्यकर्ता अहिलेदेखि नै लाग्नुपर्ने उहाँको धारणा छ । संगठन निर्माण जनताका जीविकाका प्रश्नहरूलाई महत्त्वका साथ उठान गर्नुपर्ने उहाँले बताउनुभयो । बैठकमा जुम्लाका लागि केन्द्रीय प्रतिनिधिका रूपमा खटिनुभएका केन्द्रीय सदस्य विष्णु रिजालको पनि उपस्थिति थियो । बैठकमा हालसम्मको मिसन ग्रासरुट अभियानको समीक्षा गर्दै नगरभित्र अझ प्रभावकारी बनाउनेबारेमा कार्ययोजना बनाइएको छ । 

जुम्लामा भइरहेका कामकाबारेमा केन्द्रीय प्रतिनिधिहरू विष्णु रिजाल, नगेन्द्र शाही (नेशनल) र गेहेन्द्र दाहालका साथै जिल्ला अध्यक्ष शान्तिलाल महत, उपाध्यक्ष सुरतबहादुर शाही र सचिव धनकृष्ण पाण्डेले जानकारी गराउनुभएको थियो । अभियानलाई थप सशक्त र प्रभावकारी रूपमा सञ्चालन गर्न कँडेलले निर्देशन दिनुभएको थियो ।

यसैबीच, जुम्लाको पातारासी गाउँपालिकास्तरीय भेला तथा प्रशिक्षण सम्पन्न भएको छ । 

स्थायी कमिटी सदस्य तथा कर्णाली प्रदेश इन्चार्ज कमरेड यामलाल कँडेलको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा केन्द्रीय कमिटी सदस्यद्वय विष्णु रिजाल र नगेन्द्र शाही (नेशनल), प्रदेश कमिटी सदस्य जयबहादुर खत्री र जिल्ला कमिटी अध्यक्ष शान्तिलाल महतले प्रशिक्षण दिनुभएको थियो ।

पालिका कमिटी अध्यक्ष विष्णुबहादुर बुढाको अध्यक्षता आयोजित कार्यक्रममा माओवादी र कांग्रेस छाडेर पार्टी प्रवेश गर्नेहरूलाई कँडेलले स्वागत गर्नुभएको थियो ।