गुल्मी – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका नेता कार्यकर्ताहरूलाई उत्ताउलो नहुन निर्देशन दिनु भएको छ।
मिसन ग्रासरुट अभियानको क्रममा आज गुल्मी सदरमुकाम तम्घासमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले नेता कार्यकर्तालाई यस्तो निर्देशन दिनु भएको हो ।

एमालेमा प्रवेश गरेपछि गंगा नदी जस्तै शालीन हुनुपर्ने अध्यक्ष ओलीले बताउनुभयो । अध्यक्ष ओली भन्नुहुन्छ, ‘कालीगंगामा सबै गएपछि गंगा नै हुन्छ । तिनको खहरे प्रवृत्ति, उत्ताउला प्रवृत्ति सबै हराउँछ । एमालेमा आइसकेपछि खहरेका प्रवृत्ति, अरुका प्रवृत्ति बोकेर हिँड्न मिल्छ ? नेकपा एमाले गंगा जस्तै हो। शैली, आचरण, व्यवहार एमाले कार्यकर्ताको जस्तो भनेर अनुकरणीय बन्नुपर्छ।’
अध्यक्ष ओलीले एमाले पार्टी इमानका लागि इमानका साथ लडेको पार्टी भएको भन्दै एमाले कार्यकर्ताबाट बेइमानी गर्ने कुरा कल्पनासमेत गर्न नसकिने बताउनु भयो । उहाँ भन्नुहुन्छ, ‘एमाले पार्टी इमानका लागि इमानका साथ लडेको पार्टी हो, बेइमानी भन्ने कुरा कल्पनासमेत गर्न सकिँदैन । तर फेरि पनि कहीँ कहीँ सुनिन्छ, त्यस्ता अनुचित विजातीय प्रवृत्ति पनि पार्टीभित्र प्रवेश भएका छन्, तिनीहरुलाई हामीले हटाउनु पर्नेछ ।’




प्रतिक्रिया