गुल्मी – नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले समृद्ध देश निर्माणका लागि एमाले पार्टीको बहुमत हुनुपर्ने बताउनुभएको छ। देशलाई बचाउन र समृद्ध देश निर्माण गर्नको लागि एमालेको बहुमत आवश्यक रहेको उहाँले बताउनुभयो ।
आज गुल्मीको सदरमुकाम तम्घासमा भएको मिसन ग्रासरुट अन्तर्गत पार्टी सुदृढीकरण तथा विस्तार अभियानको बृहत प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै अध्यक्ष ओलीले देशलाई समृद्ध बनाउन नदिनको लागि सबै शक्ति एकजुट भएको आरोप लगाउनुभयो। शिक्षा स्वास्थ्य लगायतका विभिन्न भौतिक संरचना निर्माणको लागि एमाले पार्टी सरकारमा हुँदा धेरै काम गरेको उहाँले बताउनुभयो।

विगतदेखि नै एमाले पार्टीले देशको पक्षमा काम गर्दै आएको उहाँले बताउनुभयो। ‘हामीले नेपाली जनतालाई खुसी बनाउन चाहेको छौं’, उहाँले भन्नुभयो, ‘जनता भयत्रासमा बस्न नपरोस् भनेर हामी लागेका छौं।’ नेपाली जनतालाई अधिकार सम्पन्न बनाउनका लागि एमालेले एकल बहुमत प्राप्त गर्न आवश्यक रहेको उल्लेख गर्नुभयो।
‘पार्टीको विरुद्धमा चौतर्फी घेराबन्दीमा सबै विरोधी शक्तिहरु मिलेर लागेका थिए’, उहाँले भन्नुभयो, ‘हामीविरुद्ध धेरै षड्यन्त्र भयो। अब मिसन ग्रासरुट मार्फत पार्टीलाई बलियो राष्ट्रिय शक्ति बनाउन आवश्यक छ।’ उहाँले एमाले सिनो खाने स्यालको बच्चा नभएर सिंहको बच्चा भएको उल्लेख गर्नुभयो।
‘एमालेसंग ठूलो संगठन छ। सबै साथीहरू संगठित हुनका लागि पार्टी चुस्तदुरुस्त हुनुपर्छ’ उहाँले भन्नुभयो, ‘पार्टीलाई योजनाबद्ध सकृयता बनाउन आवश्यक छ। पार्टीभित्र अनुशासित एकताको पनि आवश्यक छ।’
५१ प्रतिशत भन्दामाथि एक्लै एमालेले जित्न सक्ने हुनुपर्ने मिसन ग्रासरुटको उदेश्य रहेको अध्यक्ष ओली बताउनुभयो। अभियानको अहिले मध्यावधि समीक्षामा रहेको उल्लेख गर्दै सबै कमिटी परिचालित हुनु जरुरी भएको उहाँको भनाइ छ। हरेक टोलमा संगठन, हरेकको घरमा सदस्यको अभियान लगेर सबै लाग्नुपर्ने बताउनुभयो। अध्यक्ष ओलीले भागबन्डा होइन सबै कार्यकर्तालाई काम दिन निर्देशन दिनुभयो। उहाँले पार्टीभित्र गम्भीर छलफल गरेर लाग्नुपर्ने बताउनुभयो।

प्रतिक्रिया