रौतहट – नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले एमाले पार्टीलाई भित्तामा पुर्याउँछौ भन्नेहरु आफैं भित्तामा पुगेको उदघोष गर्नुभएको छ।
मिसन ग्रासरुट अभियानकोक्रममा रौतहट सदरमुकाम गौरमा आज आयोजित जिल्लास्तरीय अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा बोल्दै वरिष्ठ उपाध्यक्ष पोखरेलले यस्तो बताउनु भएको हो।
वरिष्ठ उपाध्यक्ष पोखरेलले नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका नेताहरुलाई इंगित गर्नुहुँदै नेकपा एमालेलाई भित्तामा पुर्याउछु भन्नेलाई गत मंसिर ४ गते सम्पन्न निर्वाचनमा नेपाली जनताले नै भित्तामा पुर्याइ दिएको बताउनु भयो।
नेता पोखरेलले जनताको माया र स्नेहले नै नेकपा एमाले समानुपातिक मतमा पहिलो भएको बताउनु भयो । उहाँले अब आउने निर्वाचनमा स्पष्ट बहुमत ल्याउने गरी योजनावद्ध ढंगले जनताको काम गरिरहेको बताउनु भयो ।
मिसन ग्रास रुटको मुख्य उदेश्य भनेको नै तल्लो तहका नेता तथा कार्यकर्ताहरुको समस्याको समाधान र पार्टीलाई जगदेखि नै बलियो बनाउनु रहेको पनि पोखरेलले बताउनु भयो ।
कार्यक्रमका नेकपा एमालेका सचिव रघुवीर महासेठले नेकपा एमाले पार्टी भनेको सालको रुख भएको बताउनु भयो । मधेश प्रदेश इन्चार्ज समेत रहेका महासेठले एमाले पार्टी सालको रुख जस्तो बलियो पार्टी रहेको र अब मिसन ग्रासरुट कार्यक्रमले झन् बलियो बन्दै गएको बताउनु भयो । नेकपा एमाले पार्टी जनताको पार्टी भएकै कारण मधेशमा एमाले पहिलो पार्टी बनेको सचिब महासेठको भनाई थियो ।
कार्यक्रममा नेकपा एमालेका पोलिटब्युरो सदस्यद्धय अच्युत मैनाली र पुरुषोतम पौडेलले मिसन ग्रास रुटको उदेश्यबारे प्रकाश पार्नुभएको थियो । एमाले रौतहट जिल्ला संयोजक सचितान्नद साहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा रौतहट क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्यका प्रत्यासी उमेदवार अजय गुप्ताले स्वागत गर्नुभएको थियो ।






प्रतिक्रिया