पाल्पा- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले देशको राजनीतिक ‘सिंह’ भएको बताउनु भएको छ।
एमाले पाल्पाले आज तानसेनको दमकडामा आयोजना गरेको जिल्लास्तरीय बृहत् कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले १० दलीय सत्तारुढ गठबन्धन स्यालको बथानको संज्ञा दिनु भएको हो।
अध्यक्ष ओलीले पछिल्लो समय एमालेविरुद्ध चौतर्फी घेराबन्दी भइरहेको र यस्तो अवस्थामा एमालेले एक्लै लडिरहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘एक्लै लड्छ‚ सिंह एक्लै हिँड्छ। स्यालहरू बथानमा हिँड्छन्। स्यालहरू एक्लै हिँड्यो भने बाघले खाने डर हुन्छ । सिंह जंगल नियाल्दै लमक लमक एक्लै हिंडिरहेको हुन्छ। सिंह आफूलाई कसैले शिकार गर्छ भन्ने पत्यारै गर्दैन‚ बरु शिकार भेटिन्छ कि भनेर हिँडेको हुन्छ। १० दलीय गठबन्धन स्यालहरू हुन्‚ डराइडराइ जंगलमा हिँडिरहेका हुन्छन्। सिंहले एक्लै फेला पारे खाइहाल्छ कि भन्ने डर हुन्छ स्याललाई।’
पार्टी सिध्याएको बेला पार्टी विघटन गरेर छिन्नभिन्न भएको अवस्थामा पनि एमाले लोकप्रिय मतका आधारमा पहिलो पार्टी बन्न सफल भएको उहाँले दाबी गर्नुभयो । पार्टी कब्जा गर्न नसकेर माधवकुमार नेपाल र प्रचण्डले पार्टी फुटाएको आरोप ओलीले लगाउनु भयो । उहाँले भन्नुभयो, ‘म माथि पटक-पटक आक्रमण गर्न खोजेका थिए‚ मेरो बदनाम गर्न खोजे। अन्ततः आफूहरू नै सिद्धिए । आफैँ पार्टीबाट चोइटिएर गए।’
अध्यक्ष ओलीले माधव नेपाललाई पिलोको संज्ञा दिनुभयो । उहाँले भन्नुभयो, ‘पिलो निचोरेर फाल्दैमा शरीरको तौल घट्दैन बरु दुखाइ सन्चो हुन्छ‚ शरीर ठीक अवस्थामा रहन्छ । अब एमाले झन् बलियो र राम्रो पार्टी बनेको छ।’
दश दलीय गठबन्धनमा रहेका दलले सत्तामा पुगेर लुछाचुँडी गरिरहेको अध्यक्ष ओलीले आरोप लगाउनु भयो । उहाँले भन्नुभयो, ‘देश र जनताको पक्षमा काम गर्न ध्यानै दिएका छैनन्। देश बनाउन एमालेले जित्नै पर्छ ।’
अध्यक्ष ओलीले नेकपा एमालेको नेतृत्वमा बनेको सरकारले जनमुखी काम गरेको दावी गर्नुभयो । सत्तामा टिक्न र दोहन गर्न गठबन्धनका नाममा वामपन्थी भन्नेहरूले दक्षिणपन्थीसँग ‘घाँटी जोडेको’ उहाँले बताउनु भयो ।
अध्यक्ष ओलीले भन्नुभयो, ‘मलाई त प्रधानमन्त्री ओलीले बनाइदिए तर मन उतै थियो भनेर प्रचण्ड आफैँले बोले। बकुल्ला-बकुल्लाको बथानमा जानु कुनै नौलो कुरा होइन । बाहिरको गोटी बनेका हुन् प्रचण्ड। भारतीय इशारामा सरकार परिवर्तन गरेका हुन्। उहाँले नेपाल र नेपालीको हितमा काम गर्दैनन्।’






प्रतिक्रिया