रुपन्देही – नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले माओवादी केन्द्र र नेकपा एसमा नेताहरु खराब भएपनि इमान्दार कार्यकर्ताहरु धेरै भएकाले उनीहरुलाई भ्रमबाट मुक्त पारिनुपर्ने बताउनु भएको छ।
आज बुटवलमा मिसन ग्रासरुट अभियानलाई सम्बोधन गर्नुहुँदै अध्यक्ष ओलीले दुवै पार्टीमा रहेका नेताहरुले नेपालको कम्युनिष्ट आन्दोलनलाई कमजोर बनाएकाले नेताहरु छाडेर इमान्दार कार्यकर्तालाई एमालेतर्फ ल्याउनुपर्ने बताउनु भएको हो ।
अध्यक्ष ओलीले भन्नुभयो, ‘पार्टी फुटाउने, चोइटाउनेको नाम एकीकृत भनेर राखेका छन्। पार्टी फुटाउने फाटोवादी हुन्। अनि कम्युनिष्टको सरकार ढालेर नेपाली कांग्रेसको सरकार बनाउन बिन्ति बिसाउने, पार्टी फुटाएर पूँजीवादीको पुच्छर बनेर कांग्रेससँग गठबन्धन गरेर घाँटी जोड्ने अनि नाम चै समाजवादी राखेर भ्रमित बनाउने ? केही इमानदार कार्यकर्ता भ्रममा छन् उनीहरुलाई वास्तविकता बुझाएर पार्टीमा ल्याऔं, उचित जिम्मेवारी दिऔं।’
माओवादीमा पनि धेरै इमान्दार कार्यकर्ताहरु भ्रममा लागिरहेको ओलीले दावी गर्नुभयो । उहाँले भन्नुभयो, ‘शरीरभरी गोली बोकेर, अंगभंग भएर परिवारका सदस्य गुमाएर कार्यकर्ता बसेका छन् । प्रचण्डसहितका नेताहरुलाई मस्ती छ, अब ती कार्यकर्ताको चेत खुलाउनेगरी अभियान थाल्नुपर्दछ । भ्रमबाट मुक्त गर्नुपर्दछ, माओवादीमा नेता खराब छन्, कार्यकर्ता इमान्दार छन्, उनीहरुलाई पार्टीमा ल्याएर जिम्मेवारी दिएर घुलमिल गराऔं ।’






प्रतिक्रिया