अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पार्टी बलियो नबनाएसम्म विश्राम लिँदैन : उपाध्यक्ष पौडेल

पार्टी बलियो नबनाएसम्म विश्राम लिँदैन : उपाध्यक्ष पौडेल


डडेलधुरा-नेकपा (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले  पार्टी बलियो नबनाएसम्म विश्राम नलिने बताउनुभएको छ । पार्टीले देशव्यापी रूपमा सञ्चालन गरिरहेको ‘मिसन ग्रासरुट’ अन्तर्गत डडेलधुरामा जिल्लास्तरीय अगुवा कार्यकर्ता प्रशिक्षण भेलालाई सम्बोधन गर्दै पौडेलले डडेलधुरामा एमालेको अवस्था सुदृढ बनाएर छाड्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

उहाँले जनताका समस्या सुन्ने पार्टी एमाले हो भन्ने अवस्था सिर्जना गरेरमात्र आफूहरुले विश्राम लिने बताउनुभयो । 

स्थानीय तह निर्वाचन र प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनमा नेकपा (एमाले) ले सोचेजति परिणाम हासिल गर्न नसकेको भन्दै उहाँले अब आउने निर्वाचनमा बहुमतका साथ विजय प्राप्त गर्ने ध्येयका साथ अगाडि बढ्न कार्यकर्तालाई आग्रह गर्नुभयो ।

नेकपा (एमाले) हरबखत जनताको सुखदुःखसँग जोडिएर अगाडि बढ्न चाहेको बताउँदै उपाध्यक्ष पौडेलले गठबन्धन दलका नेताहरूलाई देश र जनताका समस्या समाधान गर्ने चिन्ता नभई कुर्सी प्यारो रहेको भनाई राख्नुभयो । 

भेलामा पार्टीका सचिव एवं सुदूरपश्चिम प्रदेश इन्चार्ज लेखराज भट्ट, सह इन्चार्ज कर्णबहादुर थापा, केन्द्रीय सदस्य भैरवबहादुर सिंह, गौरीशङ्कर चौधरी, पार्टीका सुदूरपश्चिम प्रदेशका अध्यक्ष दामोदर भण्डारी लगायत नेताहरूको उपस्थिति रहेको थियो ।  कार्यक्रममा मिसन ग्रासरुटका लागि पार्टीका केन्द्रीय प्रतिनिधि, डडेलधुराबाट प्रतिनिधित्व गर्ने प्रदेश कमिटीका सदस्य, केन्द्रीय विभागका सदस्य, जिल्ला कमिटीका सदस्य, प्रदेश तथा जिल्ला सल्लाहकार परिषद्का सदस्य, पालिका कमिटीका पदाधिकारी तथा सचिवालय सदस्य, वडा कमिटीका पदाधिकारी, पार्टीबाट निर्वाचित जनप्रतिनिधि, जिल्ला कमिटी पदाधिकारीहरू लगायतको सहभागिता उल्लेख्य मात्रामा थियो । 

यसैबीच नेकपा (एमाले) को ‘घर फर्क अभियान’ अन्तर्गत आजै तीनजना एमालेमा प्रवेश गरेको पार्टीका जिल्ला कमिटी सचिव गजेन्द्र शाहीले जानकारी दिनुभयो । पार्टीमा फर्कनेहरूमा अमरगढी नगरपालिका– १ बाट समाजवादीका रुद्रबहादुर ऐर, गन्यापधुराका बसन्तीदेवी महता र अमरगढी नगरपालिका–३ का धनबहादुर पाण्डेय हुनुहुन्छ ।