महोत्तरी-नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले मुलुकको समृद्धि आफ्नो दलबाट मात्र सम्भव रहेको बताउनुभएको छ । महोत्तरीको जलेश्वरमा बुधबार पार्टीको ‘मिसन ग्रासरुट’ अभियानबारे अगुवा कार्यकर्ताका लागि प्रशिक्षण कार्यक्रममा उहाँले मुलुकको अग्रगति र जनताका समस्याबारे बुझ्ने पार्टी एमाले मात्र भएको बताउनुभयो ।
एमालेले विगतमा सरकारको नेतृत्व सम्हाल्दा मधेसमा पूर्वपश्चिम राजमार्गबाट सदरमुकाम जोड्ने सडक, हुलाकी सडक, रेल सञ्चालनका लागि पूर्वाधार निर्माणमात्र नभएर किसानका खेतखेतमा पानी पुर्याउन सुनकोशी मरिन डाइभर्सनको काम थालेको पोखरेलको भनाइ छ । मधेसको विकासका लागि एमाले नेतृत्वको सरकारले थालेका काम पूरा गर्न फेरि एमाले नै नेतृत्वमा आउन पर्ने उहाँले बताउनुभयो ।
कार्यक्रममा एमालेका केन्द्रीय सचिव तथा मधेस प्रदेश इन्चार्ज रघुवीर महासेठले मधेसबाट प्रतिनिधिसभा र प्रदेशसभामा अहिले पनि आफ्नो दल पहिलो रहेको उल्लेख गर्दै आउने निर्वाचनमा भने स्पष्ट बहुमतसहितको बन्ने दाबी गर्नुभयो । एमाले जिल्ला अध्यक्ष कालीचन्द्र साहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पार्टी स्थायी कमिटी सदस्य लालबाबु पण्डित, पोलिटब्युरो सदस्यद्वय जुली महतो र रामदयाल मण्डलले अहिलेको पार्टी अभियान ‘मिसन ग्रासरुट’ बारे प्रकाश पार्नुभएको थियो ।






प्रतिक्रिया