अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रचण्डलाई अध्यक्ष ओलीको आग्रह: हाम्रो भूमि कहाँ के भइरहेको छ ? खुलस्त भन्नुस् !

प्रचण्डलाई अध्यक्ष ओलीको आग्रह: हाम्रो भूमि कहाँ के भइरहेको छ ? खुलस्त भन्नुस् !


काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई सरकारको भूमि कहाँ-कहाँ मिचिएको छ खुलस्त पार्न माग गर्नुभएको छ । प्रधानमन्त्री प्रचण्ड भारत भ्रमणमा जान लागेको भन्दै अध्यक्ष ओलीले ताबेदारीको सट्टा भूमिमा दाबेदारीको कुरा गर्न उहाँले सुझाव दिनुभयो ।

आज काठमाडौंमा आयोजित एक कार्यक्रममा अध्यक्ष ओलीले नेपाली भूमिबारे के भइरहेको छ भनेर बोल्न प्रधानमन्त्री प्रचण्डलाई सुझाव दिनुभयो । उहाँले भन्नुभयो, ‘हाम्रो सीमा मिचिँदो छ । भूमि खुम्चिँदो छ । हाम्रो भूमि मिचिँदै छ । सरकार मौन छ । किनभने, बोल्यो भने उसको सत्ता धरापमा पर्छ ।’

राष्ट्रियता अफ्ठ्यारोमा हुँदा देशको पक्षमा बोल्दा सरकार, पद खतरामा पर्छ भनेर राष्ट्रका पक्षमा बोल्न सकिँदैन भने राष्ट्रको सरकार भन्न लायक नहुने उहाँले बताउनु भयो ।

‘हाम्रो भूमि र अखण्डताको बारेमा सरकारले अविलम्ब बोलोस् । भोलि प्रधानमन्त्रीजी यहाँ आउँदै हुनुहुन्छ। भोलि प्रधानमन्त्रीजीले बोल्नुस्’, ओलीले थप्नुभयो, ‘हाम्रो भूमि के भइरहेको छ ? भूमि अतिक्रमित भएको छ कि छैन ? भएको छ भने कहाँ कहाँ भएको छ ?’

उहाँले भूमिबारे बोल्न नसकेको भन्दै विदेश भ्रमणमा किन जान लागेको भन्ने प्रश्न गर्नुभयो । उहाँले प्रश्न गर्नुभयो, ‘विदेश भ्रमणमा जाँदै किन हुनुहुन्छ ? यहाँ चुँ गर्न सक्नु भएको छैन । त्यहाँ गएर बोल्न सक्ने कुरै छैन । के गर्न जाँदै हुनुहुन्छ ? जमिन दाबेदारी गर्न जाँदै हुुनुहुन्छ कि अरु नै कुरा ?’