काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सातौं पटक मन्त्रिपरिषद् पुनर्गठन गर्नुभएकाे छ । १० पुसमा प्रधानमन्त्री हुनुभएका उहाँले नेपाली कांग्रेस, जनता समाजवादी पार्टी लगायतका दललाई समेटेर शुक्रबार मन्त्रिपरिषद् विस्तार गर्नुभएकाे हाे। तर सरकारले अझै पूर्णता पाउन भने सकेकाे छैन।
प्रधानमन्त्री प्रचण्डले कांग्रेसको सिफारिसमा चार सांसदलाई मन्त्री नियुक्त गर्नुभएकाे छ। उपसभापति पूर्णबहादुर खड्का उपप्रधान तथा रक्षामन्त्री हुनुभएकाे छ भने डा. प्रकाशशरण महत अर्थ, रमेश रिजाल उद्योग वाणिज्य तथा आपूर्ति र सीता गुरुङ शहरी विकासमन्त्री हुनुभएकाे छ।
जनता समाजवादी पार्टी (जसपा)को सिफारिसमा अशोक राई शिक्षा विज्ञान तथा प्रविधिमन्त्री हुनुभएकाे छ।
यस्तै एकीकृत समाजवादीका उपाध्यक्ष बेदुराम भुसाल कृषि तथा पशुपक्षी विकास र उपमहासचिव प्रकाश ज्वाला भौतिक पूर्वाधार तथा यातायातमन्त्री नियुक्त हुनुभएकाे छ।
माओवादी केन्द्रबाट उपमहासचिव शक्ति बस्नेत ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री बन्नुभएकाे छ।
उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठको भने मन्त्रालय फेरिएको छ । ११ पुसमा भौतिक पूर्वाधारमन्त्री हुनुभएका उहाँलाई गृह मन्त्रालयको जिम्मेवारी दिइएको छ।
सञ्चार तथा सूचना प्रविधिमा रेखा शर्मा, पर्यटन तथा नागरिक उड्डयनमा सुदन किराती र संघीय मामिला तथा समान्य प्रशासनमा अमनलाल मोदीले निरन्तरता पाउनुभएकाे छ।
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का शरदसिंह भण्डारी श्रम तथा रोजगार र नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री हुनुभएकाे छ।
नेपाल समाजवादी पार्टीका महिन्द्र राय यादव महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री बन्नुभएकाे छ।






प्रतिक्रिया