काठमाडौँ – नेकपा (एमाले)ले आगामी वैशाख १० गते हुने चिवतन क्षेत्र नम्बर २ र तनहुँ क्षेत्र नम्बर १ को उपनिर्वाचनका लागि उम्मेदवार चयन गरेको छ ।
आज ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको केन्द्रिय सचिवालय बैठकले चितवन क्षेत्र नम्बर २ को उपनिर्वाचनमा रामप्रसाद न्यौपाने र तनहु क्षेत्र नम्बर १ को उपनिर्वाचनमा सर्बेन्द्र खनाललाई उम्मदवार बनाउने निर्णय गरेको हो।
पार्टीको सम्बन्धित निर्वाचन क्षेत्रीय कमिटी, जिल्ला कमिटी, प्रदेश कमिटीको सिफारिसमा दुवैलाई उपनिर्वाचनमा उम्मेदवार बनाउने निर्णय गरिएको पार्टीका उपमहासचिव एवम् प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिनु भयो।
एमालेले बारा क्षेत्र नम्बर २ को उपनिर्वाचनमा भने भोलि (आइतबार) सम्म उम्मेदवार तय गर्ने जनाएको छ। भोलिसम्म थप छलफल गरेर सो क्षेत्रमा उम्मेदवार तय गर्ने निर्णय पनि बैठकले गरेको प्रचार विभाग प्रमुख गुरुङले बताउनु भयो । उहाँले भन्नुभयो, ‘बारा क्षेत्र नम्बर २ को उपनिर्वाचनमा उम्मेदवार बनाउने लागि आवश्यक छलफल गरेर निर्णय लिने जिम्मेवारी भने बैठकले अध्यक्ष केपी शर्मा ओलीलाई दिएको छ ।’

उपमहासचिव गुरुङले भन्नुभयो, ‘तनहुँ जिल्ला निर्वाचन क्षेत्र नम्बर १ मा सर्वेन्द्र खनाललाई पार्टीको तर्फबाट उम्मेदवार बनाएका छौं । त्यस्तै चितवन निर्वाचन क्षेत्र नम्बर २ बाट पार्टीको निर्वाचन क्षेत्रीय कमिटी, जिल्ला कमिटी, प्रदेश कमिटीको सिफारिसमा रामप्रसाद न्यौपानेलाई चितवन क्षेत्र नम्बर २ को उम्मेदवार बनाउने निर्णय गरेका छौं । त्यसैगरी बारा निर्वाचन क्षेत्र नम्बर २ मा आज र भोलि थप छलफल गर्नुपर्ने आवश्यक्ता हामीले महसुस गरेका छौं । त्यहाँको राजनीति असाध्यै धेरै तरल भएको, उम्मेदवारहरुको बारेमा अझै छलफल गर्नुपर्ने, ठोस छलफल गर्नुपर्ने भएकाले भोलीका दिनसम्म बारा क्षेत्र नम्बर २ को उम्मेदवार तय गर्ने जिम्मेवारी पार्टीको मुख्यालयलाई दिएको छ । त्यो काम हामी भोलिसम्म सक्छौं । त्यसका लागि पार्टी अध्यक्ष केपी ओलीले त्यहाँका पार्टी इन्जार्चसहितका नेताहरुसँग बसेर सो विषयलाई टुंगो लगाउनुहुन्छ ।’
बैठकले पार्टी नेता भीम रावललाई सहमतिमा ल्याउन वार्ता टोली समेत बनाउने निर्णय गरेको छ । उपाध्यक्ष विष्णु पौडेलको नेतृत्वमा पार्टीका सुदूर पश्चिम इन्चार्ज लेखराज भट्ट र सहइन्चार्ज कर्ण थापा रहेको तीन सदस्यीय टोली बनाइएको पृथ्वीसुब्बा गुरुङले जानकारी दिनुभयो । एमालेले सो टोलीलाई नेता रावलसँग वार्ता गरेर आवश्यक टुङ्गोमा पुग्न जिम्मेवारी दिने निर्णय गरेको छ।
त्यसैगरी एमालेले मिटरब्याजी पीडितहरुको समस्या समाधानका लागि ठोस, सार्थक र शिघ्र पहल गर्न सरकारको गम्भीर र ध्यानाकर्षण समेत गराएको छ । मिटर ब्याज असुल गर्ने कामलाई अपराध ठहर्याउने गरी कानुनी व्यवस्था गर्न र त्यस्ता अपराध कर्ममा लागेकाहरुलाई तत्काल कडा कानुनी कारबाही गर्न पनि बैठकले सरकारसँग माग गरेको पार्टीका प्रचार विभाग प्रमुख गुरुङले बताउनु भयो । उहाँले भन्नुभयो, ‘मिटरब्याजीबाट पीडितहरु काठमाडौँमा आई धर्नामा बसेको र उनीहरु शारीरिक तथा मानसिक पीडाका कारण बिरामी पर्दै गएको स्थितिप्रति नेकपा एमालेको गम्भीर ध्यानाकर्षण भएको छ ।’
बैठकले अप्रिल २२ नेपाल कम्युनिष्ट पार्टी स्थापना दिवसबाट लागू हुने गरी पार्टीको वार्षिक कार्यक्रम बनाउने निर्णय गर्दै त्यसका लागि आवश्यक सुझाव दिन पार्टीका सचिवालय सदस्य र स्थायी कमिटीका सदस्यहरुलाई निर्देशन समेत दिएको छ ।
नेपाल कम्युनिष्ट पार्टी स्थापनाको ७५औं वर्ष प्रवेश हुने भएकाले सोही अवसरमा सोही दिनबाट लागू हुने गरी पार्टीको वार्षिक कार्यक्रम बनाउनका लागि पार्टी सचिवालय र स्थायी कमिटीमा सदस्यहरुलाई सुझाव दिन पनि बैठकले निर्देशन दिएको एमालेले जनाएको छ ।
प्रतिक्रिया