काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बर्तमान सत्ता गठबन्धनबाट मुलुक नबन्ने ठोकुवा गर्नुभएको छ।
आइतबार काठमाडौंमा आयोजित पार्टीनिकट लोकतान्त्रिक आदिवासी जनजाति महासंघको राष्ट्रिय महाधिवेशन उद्घाटन गर्दै अध्यक्ष ओलीले यस्तो कुरा बताउनु भएको हो ।
अध्यक्ष ओली भन्नुभयो, ‘आज राष्ट्रिय शक्ति निर्माण गर्ने एमालेको उद्देश्य, देशको निम्ति काम गर्ने एमालेको उद्देश्य, त्यस्तो पार्टीलाई राष्ट्रिय शक्ति बन्न नदिएर नेपाललाई छिन्न भिन्नको स्थितिमा अहिलेको हेर्नुस त ! यो कस्तो गठबन्धन हो ? यस्ता कुराहरुबाट हामी देश बनाउन सक्दैनौं । एउटा नीतिमा देश चल्नुपर्छ, एउटा विचारमा देश चल्नुपर्छ । एउटा संगठनले नेतृत्व गर्नुपर्छ । दसतिर फर्केका छन् । उसले उता डोरी तान्छ, अर्कोले उता डोरी तान्छ । त्यस्ताले कहाँ पुर्याउँछन् देश ? देशको रथ कता जाने ?’
अध्यक्ष ओलीले एमालेको बिरुद्धमा लाग्ने कसम खाएका र लागेकाहरुलाई मात्रै सरकारमा मन्त्री बनाइएको बताउनु भयो । पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष ओलीले ‘एमाले विरोधी हुँ’ भन्नेहरु वर्तमान सरकारमा मन्त्री भएको बताउनु एको हो ।
एमालेको पक्षमा छैनौं भन्नेहरुलाई प्रधानमन्त्री पुष्पकमल दाहालले छानीछानी मन्त्री बनाएको ओलीको भनाई छ । वर्तमान सरकारमा कुनै योजना नरहेको भन्दै उहाँले देश बनाउन एउटा नीति, एउटा विचार, एउटा संगठनले नेतृत्व गर्नुपर्ने बताउनु भयो।
दस जनाले दसतिर तानेकाले देशको रथ कता जाने भन्ने प्रश्न वर्तमान सरकारमाथि रहेको पनि ओलीले बताउनु भयो । मुलुक बनाउन एमालेले राष्ट्रिय शक्ति निर्माणको अभियानलाई अघि बढाएको पनि अध्यक्ष ओलीले बताउनु भयो । उहाँले भन्नुभयाे, ‘अहिलेकाे सरकारले देश विकास गर्छ ? यसकाे प्रवक्ता काे हाे ?’
मन्त्रीहरुकाे फरक-फरक उद्देश्य भएकाे र दश दलकाे नीति दशथरी भएकाे भन्दै अध्यक्ष ओलीले प्रधानमन्त्रीलाई नै साेध्याे भने देश बनाउनका लागि भन्नै नसक्ने बताउनुभयाे ।
अध्यक्ष ओलीले भन्नुभयाे, ‘१० तिर फर्केका छन्, उसले उता डोरी तान्छ, उसले उता डोरी तान्छ, त्यस्ताले कहाँ पुर्याउँछन देश ? देशको रथ कता जाने ? १० जनताले दशतिर तानेको छ, १० वटा पार्टीले दशतिर तानेको छ, कसैले के भन्छ ? बुझेको-सुझेको केही छैन, भवितव्यमा २ वटा सिट आयो, एमालेविरुद्ध बोले मन्त्री भए, जान्नुतान्नु केही पनि पर्दैन, एमालेको पक्षमा म छैन एमाले विरोधी हूँ भनेपछि मन्त्री बन्न क्वालिफिकेशन पुग्छ।’









प्रतिक्रिया