नयाँ दिल्ली-साबिक विजेता गुजरात टाइटन्सले इन्डियन प्रिमियर लिग (आईपीएल) मा लगातार दोस्रो जीत हासिल गर्दै दिल्ली क्यापिटल्सलाई ६ विकेटले पराजित गरेको छ । मंगलबार राति भएको खेलमा दिल्लीले प्रस्तुत गरेको १६३ रनको लक्ष्य गुजरातले ११ बल बाँकी छँदै ४ विकेटको क्षतिमा पछ्यायो ।
गुजरातलाई जीत दिलाउन साई सुदर्शनले नटआउट रहँदै ६२ रनको शानदार पारी खेले । उनलाई डेभिड मिलरले नटआउट रहेर ३१ रन बनाउँदै राम्रो साथ दिए । त्यस्तै विजय शंकरले २९ रन बनाए । दिल्लीका लागि एनरिच नोर्टजेले २ विकेट लिए ।
यसअघि मोहमद शामी र राशिद खानले ३–३ विकेट लिएपछि दिल्ली निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ६२ रनमा सीमित बनेको थियो । दिल्लीका लागि कप्तान डेविड वार्नरले ३७ रन तथा अक्षर पटेलले ३६ रन बनाए । शरफराज खानले ३० रनको पारी खेले । जीतसँगै गुजरात ४ अङ्कसहित अङ्क तालिकामा शीर्ष स्थानमा रहेको छ । दिल्ली भने हालसम्म अङ्कविहीन रहेको छ ।-एजेन्सी
प्रतिक्रिया