काठमाडौं – नेकपा एमालेका सांसद रघुजी पन्तले सरकारको १०० दिनको उपलब्धी भ्रष्टाचार र दिशाहीन भएको बताउनुभएको छ।
आज प्रतिनिधिसभाको बैठकको विशेष समयमा बोल्दै उहाँले सरकारको १०० दिन खेर गएको बताउनुभयो।
‘आजको प्रधानमन्त्रीसँग देशलाई कहाँ लैजाने थाहा छैन’,उहाँले भन्नुभयो । उहाँले पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री भएको सय दिनमा भ्रष्टाचार बढ्नेबाहेक केही काम नभएको टिप्पणी गर्नुभयो ।उहाँले भन्नुभयो, ‘काम गरेको छैन, एउटासँग बिहे गर्यो, अर्कोसँग पोइल गयो । अनि केही दललाई लिएर सरकार बनायो।’
‘३७ बुँदा पढ्दा के पढेको भन्ने नै बुझिँदैन । यस्तो योजना तर्जुमा गरिएको छ, यस्तो निर्देशन दिइएको छ भन्ने जस्ता कुरा छन्’ पन्तलेले भन्नुभयो, ‘न किसानका समस्या छन्, न मुलुकको गम्भीर अवस्थाबारे भिजन छ न गरेको कामको उल्लेल छ।’
कतिपटक प्रधानमन्त्री बने भन्नुभन्दा उपलब्धि के भयो भन्ने कुरा महत्वपूर्ण हुने भन्दै उहाँले भन्नुभयो, ‘मनमोहन एकपटक प्रधानमन्त्री बन्नु भएको थियो, त्यो पनि अल्पमतको, अहिलेसम्म उहाँलाई किन स्मरण गरिन्छ ?’
सांसद पन्तले बोल्दै गर्दा माओवादीका सूर्यमान दोङ तामाङले नियमापत्ति गर्नुभएको थियो । उहाँले पन्तको भनाइ रेकर्डबाट हटाउन माग गर्नुभएको थियो तर किन हटाउने भन्नेबारे तर्क भने दिन सक्नुभएन ।
प्रतिक्रिया