काठमाडौँ-वरूण चक्रवर्तीले सानदार चार विकेट लिँदा रोयल च्यालेन्जर्स बैंग्लोर पराजित भएको छ।
इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत गएराती भएको खेलमा कोलकाता नाइट राइडर्सले बैंग्लोरलाई ८१ रनले पराजित गरेको हो।
इडेन गार्डेन्समा २०५ रनको लक्ष्य पछ्याएको बैंग्लोर १७.४ ओभरमा अलआउट हुँदै १२३ रनमात्रै बनाउन सक्यो।
अघिल्लो खेलमा सानदार ब्याटिङ गरेका ओपनरद्वय विराट कोहली र कप्तान फाफ डे प्लेसिसले कोलकाताविरूद्धको खेलमा केबल ४४ रनको साझेदारी गरे।
चोथौ ओभरको पाँचौं बलमा व्यक्तिगत २१ रन बनाएर कोहली आउट भए। सो अवधिसम्म उनले तीन चौका प्रहार गरे। लगत्तै पाँचौं ओभरको दोस्रो बलमा कप्तान फाफ डे व्यक्तिगत २३ रन बनाएर आउट हुन पुगे।
त्यसपछि आएका ब्याट्समेनहरूले पनि सन्तोषजनक प्रदर्शन गर्न नसक्दा बैंग्लोर फराकिलो रन अन्तरले पराजित हुन पुग्यो।
बैंग्लोरका माइकल ब्रेसवेलले १९ रन बनाए। हर्शल पटेल शून्य रनमै आउट हुँदा आकाश दिपले १७ रन बनाए। डेविड विलेले अविजित २० रन बनाए।
बलिङमा वरूण चक्रवर्तीले चार विकेट लिए।
उनले बैंग्लोरका कप्तान फाफ डे प्लेसिस, ग्लेन म्याक्सवेल, हर्शल पटेल जस्ता महत्वपूर्ण खेलाडीहरूको विकेट लिए।
त्यस्तै सुयाश शर्माले तीन विकेट लिँदा सुनिल नरिनले २ र शार्दुल ठाकुरले एक विकेट लिए।
पहिले ब्याटिङ गरेको कोलकाताका ओपनर रहमानुल्लाह गुर्बेज, रिंकु सिंह र शार्दुल ठाकुरले उत्कृष्ट प्रदर्शन गरे।
ठाकुरले सर्वाधिक ६८ रन बनाउँदा ९ चौका र तीन छक्का प्रहार गरे। त्यस्तै अर्धशतकको पारी खेलेका ओपनर रहमानुल्लाहले ४४ बलमा ६ चौका र ३ छक्का प्रहार गरी ५७ रन बनाए।
रिंकु सिंहले ३३ बलमा २ चौका र ३ छक्का प्रहार गरी ४६ रनको योगदान गरे।
कोलकाताका मन्दीप सिंह र आन्द्रे रसेल पहिलो बलमै आउट हुँदा अन्य ब्याट्समेनले दोहोरो अंकमा रन बनाउन सकेनन्।
बलिङतर्फ बैंग्लोरका डेभिड वाले र कर्ण शर्माले दुई–दुई विकेट लिए। मोहम्मद सिराज, माइकल ब्रेसवेल र हर्शल पटेलले समान एकएक विकेट लिए।
जितसँगै कोलकाता अंक तालिकाको तेस्रो स्थानमा पुगेको छ। पराजित भएको बैंग्लोर सातौं स्थानमा छ।-एजेन्सी
प्रतिक्रिया