काठमाडौं – नेकपा (एमाले) की सांसद विद्या भट्टराईले सरकारले संविधान र कानून विपरित मावलीको थर राखेर एकल महिलाको बच्चाको जन्मदर्ता गराउने परिपत्र गरेको भन्दै आपत्ति जनाउनु भएको छ।
आज प्रतिनिधिसभा बैठकको शुन्य समयमा बोल्दै उहाँले संविधान र कानूनले स्थापित गरेको आमाको पहिचान र अस्तित्वलाई नै अस्विकार गर्ने गरी सबै वडाहरुमा सरकारले गरेको परिपत्र फिर्ता लिई संविधानसम्मत अर्को परिपत्र गर्न पनि सरकारलाई सचेत गराउनु भयो ।
उहाँले संविधान र कानुनको ख्याल गरेर अघि बढन पनि सरकारको ध्यानाकर्षण गराउनु भयो । उहाँले भन्नुभयो, ‘सरकारले एकल महिलाबाट जन्मेको पितृत्वको ठेगान नभएको बच्चाको जन्मदर्ताबारे सबै वडाहरुमा परिपत्र गरेको छ। संवैधानिक र कानुन व्यवस्थाको ख्याल नगरी जारी गरिएको परिपत्रमा मावलीको थर राख्ने भन्ने लेखिएको छ । परिपत्रले संविधान र कानुनले सावित गरेको आमाका पहिचान र अस्तित्वलाई अस्वीकार गरेको छ। संविधान र देवानी संहिताअनुसार फेरि परिपत्र गर्न नेपाल सरकारको ध्यानाकर्षण गराउँछु।’
सांसद भट्टराईले संविधानले पितृत्वको ठेगान नभएका बच्चाहरुको जन्मदर्ता उनीहरुको आमाको नामबाटै गर्ने व्यवस्था गरेकाले त्यसै अनुसारको आवश्यक व्यवस्था सरकारले मिलाउनुपर्ने पनि बताउनु भयो।
प्रतिक्रिया