काठमाडौं – नेकपा एमालेका सचेतक महेश बर्तौलाले सरकारको निर्देशनमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को चुनाव रोक्ने काम भएको बताउनुभएको छ।
आज बसेको प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै बर्तौलाले उच्च अदालत पाटनको आदेश बमोजिम अस्कल क्याम्पसमा आज चुनाव हुनुपर्ने भएपनि हुन नसकेको बताउनुभयो । चैत ५ गते चुनाव हुन नसकेपछि त्यसविरुद्ध परेको मुद्दामा उच्च अदालत पाटनले अस्कल लगायत चार क्याम्पसमा तत्काल चुनाव गर्न आदेश दिएको उहाँले स्मरण गर्नुभयो।
तर सरकारले सत्ताको दुरुपयोग गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आदेशमा अस्कल लगायत क्याम्पसमा चुनाव रोकिएको सचेतक बर्तौलाले बताउनुभयो । उहाँले भन्नुभयो, ‘अदालतको आदेश बमोजिम आज अस्कलमा स्ववियु चुनाव हुन्थ्यो, तर सरकारको निर्देशनमा प्रधानमन्त्री स्वयं विश्वविद्यालको कुलपति हुनुहुन्छ उहाँको निर्देशनमा गृहमन्त्रीले उपत्यकाभरका सुरक्षाकर्मीलाई अस्कल क्याम्पसमा पठाएर चुनाव स्थगित गर्ने काम गरियो, अनिश्चितकालीन रुपमा चुनाव स्थगित गरिएको सूचना टाँस गरियो ।’
भ्यालीभरका सुरक्षाकर्मी र सिंगो सरकारको तागत प्रयोग गरेर स्ववियु चुनाव हुनबाट रोकिएको भन्दै सचेतक बर्तौलाले कडा आपत्ति जनाउनुभयो । अदालतको आदेश अनुसार भोलि पाटनमा हुने स्ववियु चुनाव पनि सरकारले रोक्न खोजेको भन्दै उहाँले चुनावमा शान्ति सुरक्षा कायम गर्नुको सट्टा आफू निकट विद्यार्थी संगठनले हार्छन् भन्ने त्रासले सरकारले स्ववियु चुनाव भाँड्दै, प्रहरी परिचालन गर्दै हिँडिरहेको बताउनुभयो ।
प्रतिक्रिया