धनुषा-मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएकी धनुषाको सबैला गाउँपालिका–९ की मन्तोरिया राय उपचारवापतको खर्च बुझाउन नसक्दा अस्पतालमै बन्धक हुनुहुन्छ ।
गत माघ १२ गते उहाँलाई मोटरसाइकलले ठक्कर दिएको थियो । गम्भीर घाइते अवस्थामा मन्तोरियालाई उपचारका लागि जनकपुरधाम मुरलीचोकस्थित न्यूरो अस्पताल गरिएको थियो ।
उपचार भएपछि उहाँलाई अस्पतालले गत फागुन २० गते घर फर्काउने निर्णय गरेको थियो । तर अस्पतालमा उपचारवापतको खर्च तिर्न नसक्दा मन्तोरिया घर जान सक्नुभएको छैन । उहाँ अस्पतालमै तीन छोराछोरीसहित बन्धक हुनुहुन्छ । उहाँले अस्पताललाई उपचारवापतको रु छ लाख ६९ हजार तिर्न बाँकी छ । सो रकम तिर्न नसक्दा मन्तोरिया अस्पतालबाट घर फर्कन नपाउनुभएको हो । उहाँसँगै वृद्ध ससुरापनि अस्पतालमै रहनुभएको छ ।
“हमरा सभके खाइला नै पुगै है, अतेक रुपैयाँ तिरक घर केना जेबै, हमर बालबच्चाके केना पलेतै हौँ (हामीलाई खानै पुग्दैन । यति पैसा कहाँबाट तिरेर घर जानु, मेरो बालबच्चाको लालनपालन कसरी हुन्छ ?”, मन्तोरिया रायले रुँदै भन्नुभयो ।
कान्छो छोराको बालपोषण भत्ता लिन गत माघ १२ गते मन्तोरिया सबैला बजारको एक बैंकमा खाता खोल्न जानुभएको थियो । बैंकमा खाता खोलेर पैदल फर्किरहेका बेला सत्तोखर गोविन्दपुर सडकखण्डमा बा६१प ६६३३ नंको मोटरसाइकलले उहाँलाई ठक्कर दियो । प्रत्यक्षदर्शीका अनुसार मोटरसाइकलको ठक्करबाट सडकमा लड्नुभएकी मन्तोरियालाई मोटरसाइकलले ४०–५० मिटर परसम्म घिसारेको थियो । यसरी सडकमा घिसारिएपछि उनको शरीरको विभिन्न भागमा चोट लाग्यो ।
मोटरसाइकल धनुषाकै सहिदनगर नगरपालिका–१ बेमर्खी टोलका २५ वर्षीय दीपककुमार रायले चलाएका थिए । सोही ठाउँका ३५ वर्षीय गजेन्द्र यादव पछाडि सवार थिए । चालक राय तत्कालै समातिए । पछाडि बसेका यादव भने अहिलेसम्म फरार छन् । चालक रायको घरपरिवारको अवस्था दयनीय छ । उनी मन्तोरियालाई भेट्न अस्पतालसमेत आएनन् । दुर्घटनापश्चात मन्तोरियाका ससुरा रामप्रसादले प्रहरीमा मोटरसाइकलका चालक राय र पछाडि सवार यादवमाथि किटानी जाहेरी दर्ता गराएका थिए ।
अङ्गभङ्ग मुद्दामा चालक राय हाल जिल्ला अदालत धनुषाको आदेशमा सिन्धुली कारागारको थुनामा छन् । मन्तोरियाको परिवारले जसोतसो ऋण काढेर र समाजबाट चन्दा उठाएर पाएको झन्डै रु १० लाख अस्पताललाई तिरेको छ । तर बाँकी पैसो तिर्न उहाँसित कुनै उपाय छैन । मन्तोरिया आफूलाई घर फर्किने वातावरण बनाइदिन हारगुहार गर्दै आउनुभएको छ ।
सुरुमा दुर्घटनापछि उनलाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरमा भर्ना गरिएको थियो । तर त्यहाँ उपचार सम्भव नभएपछि न्यूरो अस्पतालमा भर्ना गरिएको थियो । मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत रहेको प्रादेशिक अस्पतालले यसरी नै गम्भीर प्रकृतिका बिरामी घाइतेलाई उपचार नगरी निजीमा सिफारिस गर्ने गरेका छन् ।
अहिले ३० वर्षीया मन्तोरियासँगै दुई छोरा र एक छोरी पनि आमासँगै घर जाने दिनको प्रतीक्षामा छन् । मन्तोरियाको सम्पत्तिका नाममा केवल दुई धुर घडेरीमा छाप्रो छ । उहाँसँगै आठ वर्षीया छोरी वर्षा, पाँच वर्षीय छोरा महेश्वर, तीन वर्षीय उमेश र ७१ वर्षीय ससुरा रामप्रसाद अस्पतालमामै बस्न बाध्य छन् । रामप्रसादले जसोतसो बुहारीको हेरचाह गर्नुभएको छ, तीन नाति–नातिना सम्हाल्नुभएको छ ।
मन्तोरियाका पति रामबहादुर राय वैदेशिक रोजगारीका सिलसिलामा कतारमा हुनुहुन्छ । गत कात्तिकमा रामबहादुर कतार गएदेखि मन्तोरियाले घर सम्हाल्दै हुनुहुन्थ्यो तर, दुर्घटनामा परेदेखि सारा परिवार नै नराम्ररी बिथोलिएको छ । पति रामबहादुरको पनि कमाइ छैन । उनी गएको कम्पनी बन्द भएर घर फर्किने अवस्था आएको मन्तोरियाले सुनाउनुभयो ।
अस्पतालका व्यवस्थापक सञ्जय मण्डलले मन्तोरिय अस्पताल भर्ना हुँदा बाँच्ने सम्भावना निकै कम भए पनि अस्पतालको समुचित रेखदेख र उपचारले उनलाई बचाएको बताउनुभयो । मण्डलका अनुसार मन्तोरियाको पेटमा तीनवटा शल्यक्रिया भएको छ । केही भाग आन्द्रा काटेर हटाइएको छ । दुवै खुट्टाको घुँडादेखि पैतालाको बीचको भागको हाँड भाँच्चिएकाले शल्यक्रिया गरी दुवैमा स्टिल जडान गरिएको छ । दायाँ हात पनि भाँच्चिएको थियो ।
अस्पतालका व्यवस्थापक मण्डलले भन्नुभयो, “जुन अवस्थामा मन्तोरिया भर्ना हुनुभो । बाँच्ने अवस्था न्यून थियो । तर हामीले भरपुर प्रयास गरेर सबै शल्यक्रिया सफल पा¥यौँ । दुई महिनापछि उहाँ अलिअलि हिँड्ने, बोल्ने अवस्थामा आउनुभएको छ”, ठक्कर दिने र घरपरिवारले उपचार खर्च तिर्न नसक्दा उनको उपचारमा अस्पताल नराम्ररी फसेको छ ।
मन्तोरिया देवीको विषयमा थाहा पाएर सबैला नगरपालिकाका प्रमुख कारीराम यादव सोमबार अस्पताल पुगेर अवस्था बुझ्नुभएको छ । उहाँले दुई दिनभित्र मन्तोरियालाई अस्पतालबाट मुक्त गराएर लग्ने आश्वासन दिनुभएको छ ।
नगरप्रमुख यादवले भन्नुभयो, “यस विषयमा सबैला कार्यपालिकाको बैठक राखेर छलफल गर्छौँ, उपचार खर्चबारे के गर्न सकिन्छ उचित निर्णय गर्छौँ । यो घटनालाई गम्भीरतापूर्वक लिएका छौँ ।”
त्यसैगरी जिल्ला प्रशासन कार्यालय धनुषाबाट प्रशासकीय अधिकृत किरण मिश्रको नेतृत्वमा टोली सोमबार मन्तोरिया बन्धक भएको घटनाबारे बुझ्न अस्पताल पुगेको थियो । टोलीले अस्पतालको अनुगमनसमेत गरेको छ ।
प्रतिक्रिया