अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बैतडीका स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत नहुँदा समस्या

बैतडीका स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत नहुँदा समस्या


बैतडी – बैतडीका स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत नहुँदा समस्या भएको छ। शिवनाथ, सिगास गाउँपालिका र पुर्चौडी नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतविहीन भएका हुन्।

प्रमुख प्रशासकीय अधिकृत नहुँदा विकास निर्माणका काम, आर्थिक कारोबार, कर्मचारीको तलब, सामाजिक सुरक्षा भत्तालगायतका काम ठप्प रहेका छन्।

महिनौंदेखि प्रमुख प्रशासकीय अधिकृत नहुँदा कार्यालयले सम्पादन गर्ने काममा समस्या भएको शिवनाथ गाउँपालिकाका अध्यक्ष कर्णसिंह साउदले जानकारी दिनुभयो ।

शिवनाथमा गएको मंसिर महिनादेखि प्रमुख प्रशासकीय अधिकृत नहुँदा कर्मचारीको तलबदेखि विकास निर्माणका काम रोकिएका छन्। उहाँले भन्ननुभयो, ‘हाकिम नहुँदा पालिकाका सबै कामकाज रोकिएका छन्। निमित्त प्रमुख प्रशासकीय अधिकृतलाई आर्थिक अधिकार दिइएको छैन। यसले गर्दा विकास निर्माणका काम, कर्मचारीको तलब, सामाजिक सुरक्षा भत्तालगायतका काम ठप्प रहेका छन्।’

चालू आर्थिक वर्षका तीन महिनामात्रै बाँकी रहँदा योजनाको सम्झौतादेखि लिएर अधिकांश विकास निर्माणका कामहरु सञ्चालन हुन सकेका छैनन्। उहाँले भन्ननुभयो, ‘प्रमुख प्रशासकीय अधिकृत पनि पठाएको छैन, निमित्त प्रमुख प्रशासकीय अधिकृतलाई अख्तियारी छैन। यसले गर्दा निकै समस्या भएको छ।’

प्रमुख प्रशासकीय अधिकृत पठाउन मन्त्रालयसम्म धाए पनि कुनै सुनुवाइ नभएको अध्यक्ष साउदको आरोप छ। उहाँले भन्ननुभयो, ‘हाकिम व्यवस्थापनका लागि दुईतीनपटक मन्त्रालयसम्म पनि पुग्यौँ तर कुनै व्यवस्थापन भएन। पालिकामा सबै कामकाज ठप्प हुँदा ताला लगाएर बस्नुको विकल्प छैन।’

पुर्चौडीमा पनि प्रमुख प्रशासकीय अधिकृत नहुँदा दुई महिनादेखि आर्थिक कारोबार बन्द छ। यहाँ प्रमुख प्रशासकीय अधिकृत वीरबहादुर नेपाली गत फागुनदेखि बिदामा बस्दा समस्या भएको छ। कर्मचारी भर्नामा विषयमा विवाद भएपछि नेपाली बिदामा बसेका बुझिएको छ।

मन्त्रालयले राजेन्द्रप्रसाद पौडेललाई नयाँ प्रमुख प्रशासकीय अधिकृतको रूपमा पठाए पनि अहिलेसम्म नगरपालिकामा हाजिर नभएका पुर्चौंडी नगरपालिकाकी उपप्रमुख मीना धानुकले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘मन्त्रालयले नयाँ हाकिम पठाए पनि नगरपालिकामा हाजिर नहुँदा आर्थिक कारोबार हुन सकेको छैन। धेरैजसो काम रोकिएका छन्।’ पौडेल वैशाख पहिलो साता मात्रै प्रमुख प्रशासकीय अधिकृतको रूपमा हाजिर हुने बताइएको छ। 

यस्तै सिगास गाउँपालिकामा पनि प्रमुख प्रशासकीय अधिकृतविहीन रहेको छ। यसअघि प्रमुख प्रशासकीय अधिकृत रहेका कवीन्द्र ओझाको अनिवार्य अवकाश भएपछि नयाँ हाकिम नआउँँदा समस्या भएको गाउँपालिकाका अध्यक्ष हरिसिंह धामीले बताउनु भयो । उहाँले भन्नुभयो, ‘समयमा मन्त्रालयले प्रमुख प्रशासकीय अधिकृत नपठाउँदा कार्यसम्पादनमा बाँधा पुगेको छ। नयाँ हाकिम कहिले आउने कुनै टुंगो छैन।’