काठमाडौँ – नेपालमा कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घण्टामा एक जनाको मृत्यु भएको छ। नेपालमा कोरोनाबाट झन्डै तीन महिनापछि मृत्यु भएको हो । यसअघि पुस २३ गते नेपालमा कोरोनाबाट एक जनाको मृत्यु भएको थियो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १०६ जनामा कोभिड संक्रमण पुष्टि भएको छ। मन्त्रालयका अनुसार मंगलबार ४७६ पीसीआर र १ हजार ९६० एन्टिजेन गरी कुल २ हजार ४३६ जनाको परीक्षणमा ऊक्त संख्यामा संक्रमित देखिएका हुन् ।
पीसीआरतर्फ ७४ र एन्टिजेन परीक्षणमा ३२ जनामा संक्रमण देखिएको हो । हाल सक्रिय संक्रमितको संख्या ४६९ पुगेको छ। हाल संस्थागत आइसोलेसनमा २४ जना, आईसीयूमा १३ जना र भेन्टिलेटरमा ५ जना रहेका छन् ।
यसअघि सोमबार १२४ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । नयाँ भेरिएन्ट देखिएसँगै संक्रमितको संख्या केही हप्तायता बढ्दो क्रममा छ । हाल सक्रिय संक्रमितको संख्या ४६९ पुगेको छ । १ हजार हाराहारीमा हुँदै आएको कोभिड परीक्षण गराउनेको संख्या पनि बढ्दै गएको देखिन्छ ।
प्रतिक्रिया