अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

चालु खाता घाटा साढे ४४ अर्ब, विदेशी मुद्रा सञ्चिति १४ खर्ब

चालु खाता घाटा साढे ४४ अर्ब, विदेशी मुद्रा सञ्चिति १४ खर्ब


काठमाडौं – विदेशी मुद्रा सञ्चितिमा क्रमशः सुधार हुँदै गएको देखिए पनि सरकारको चालु खाता घाटा बढ्दो क्रममा देखिएको छ।

नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको फागुन मसान्तसम्मको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिअनुसार यो अवधिसम्ममा विदेशी मुद्रा सञ्चिति रु १४ खर्ब एक अर्ब नाघेको छ। यही अवधिमा सरकारको चालु खाता भने रु ४४ अर्ब ३१ करोडले घाटामा रहेको छ।

राष्ट्र बैंकका अनुसार यो अवधिसम्ममा पुँजीगत ट्रान्सफर २० दशममलव ३ प्रतिशतले कमी आई रु पाँच अर्ब ५८ करोड कायम भएको छ भने प्रत्यक्ष वैदेशिक लगानी रु एक अर्ब १७ करोड बराबर मात्रै छ । अघिल्लो वर्षको सोही अवधिसम्ममा पुँजीगत ट्रान्सफर रु सात ७ अर्ब रहेको थियो भने रु १६ अर्ब ३० करोड बराबरको प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको थियो ।

    फागुन मसान्तसम्ममा शोधनान्तर स्थिति रु एक खर्ब ४८ अर्ब ११ करोडले बचतमा छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति रु दुई खर्ब ५८ अर्ब ६४ करोडले घाटामा रहेको थियो ।

गत असार मसान्तमा रु १२ खर्ब १५ अर्ब ८० करोड बराबर रहेको कूल विदेशी विनिमय सञ्चिति आठ महिना अवधिमा १५ दशमलव २ प्रतिशतले बढेर फागुन मसान्त सम्ममा रु १४ खर्ब एक अर्ब २१ करोड पुगेको छ । कूल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति रु १२ खर्ब ४४ अर्ब ९४ करोड र बैंक तथा वित्तीय संस्थामा रहेको विदेशी विनिमय सञ्चिति रु १ खर्ब ५६ अर्ब २७ करोड बराबर छ । फागुन मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २३ दशमलव ९ प्रतिशत बराबर रहेको राष्ट्र बैंकले जनाएको छ ।

चालु आव २०७९/८० को आठ महिनाको आयातलाई आधार मान्दा अहिले बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले १० दशमलव नौ महिनाको वस्तु आयात र नौ दशमलव चार महिनाको वस्तु तथा सेवा आयात धान्न सकिने देखिएको छ।

–––