अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सेती नदीको जोखिम क्षेत्रमा तत्काल तारबार लगाइयोस्: विद्या भट्टराई

सेती नदीको जोखिम क्षेत्रमा तत्काल तारबार लगाइयोस्: विद्या भट्टराई


काठमाडौं – नेकपा एमालेकी सांसद् विद्या भट्टराईले पाेखरास्थित सेती नदीको जोखिम क्षेत्रमा तारबारसहितको व्यवस्था मिलाउन सरकारसँग माग गर्नुभएकाे छ।

सेती नदीको खोँचमा परी शनिबार पाेखरा महानगरपालिका-१५ की स्थानीय १२ वर्षीया स्मृति पराजुलीको ज्यान गएको भन्दै सांसद् भट्टराले मानवीय क्षति नहुनेगरी त्यहाँको जोखिम क्षेत्रमा तत्काल तारबारसहितको आवश्यक व्यवस्था गर्न माग गर्नुभयाे ।

आइतबार बसेकाे प्रतिनिधि सभा बैठककाे आकस्मिक समयमा बाेल्दै उहाँले सेती नदीकाे संरक्षणका लागि याेजना बनाउनुपर्छ भनेर विगतमा पटक-पटक कुरा उठाएपनि सम्बाेधन हुन नसकेकाे बताउनुभयाे।

सेती नदीले जुनसुकै खालकाे जाेखिम पुर्‍याउन सक्छ भनेर भूगर्भविद्‍ले पहिलेदेखि नै सचेत गराइसकेका भन्दै सांसद् भट्टराईले उनीहरूले दिएको सुझाव अनुसार संरक्षणमा लाग्न सरकारकाे ध्यानाकर्षण गराउनुभयाे।

विज्ञहरूले दिएको सुझाव अनुसार त्यहाँको सुक्खा पहिरो नियन्त्रणका लागि तत्काल योजना बनाएर सरकारले काम गर्नुपर्ने उहाँले सुझाव दिनुभयाे । सांसद् भट्टराईले भन्नुभयाे, ‘मैले सदनमार्फत फेरि ध्यानाकर्षण गराउँछु, नागरिकहरुकाे जीवनलाई कहिलेसम्म क्षती पुर्‍याउने ? त्याे क्षति न्यूनिकरण गर्नका लागि सरकारले याेजना बनाएर, भाेलिका दिनमा यस्ता क्षति हुन नदिनका लागि त्याे जाेखिम क्षेत्रमा तारबार लगाउने र विज्ञहरुले चेकड्याम निर्माण गरेर सुख्खा पहिराे नियन्त्रण गर्नका लागि समेत सुझाव दिनुभएकाे छ, याे सुझावलाई ग्रहण गर्दै याेजना बनाउन सरकारकाे ध्यानाकर्षण गराउन चाहान्छु ।’

सेती नदी पाेखराकाे सुन्दरता भएपनि त्यसकाे खाेँचमा कैयाैं मानवीय क्षतिकाे घटना भएका तथ्यहरु रहेका भन्दै उहाँले घटना हुँदा मात्र गम्भीर हुने र घटना सेलाएपछि प्रतिबद्धता नै बिर्सने प्रवृत्ति राेकिनुपर्ने बताउनुभयाे ।